वासिङटन । अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ। कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो। हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्। ५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन्।
यसैगरी बाइडनका प्रतिनिधिले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पका प्रतिनिधिले २ वटा राज्यमा अग्रता लिएका छन्। अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ । सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् ।
यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्ट्रोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् ।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि मतदानमा हिलारी क्लिन्टनले धेरै मत पाए पनि इलेक्ट्रोरल कलेजको मत डोनाल्ड ट्रम्पले धेरै पाएर उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसैगरी त्यतिबेला अधिकांश सर्वेक्षण र सञ्चारमाध्यमहरुले हिलारी विजयी हुने प्रक्षेपण गरेका थिए ।
अमेरिकामा हरेक चार चार वर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।
