बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतले कोलकाता र हल्दिया बन्दरगाह हुँदै रेल कार्गो मार्फत् ‘सामान ल्याउन दिने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ३, २०८२
  • 236
    SHARES

विराटनगर – नेपालले अब भारतीय बन्दरगाहमार्फत् विराटनगर आइसिपीसम्म तेस्रो देशबाट सबै प्रकारका सामान ल्याउन पाउने भएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दिएको जानकारी अनुसार भारतले  कोलकाता र हल्दिया बन्दरगाह हुँदै विराटनगरको आइसिपीसम्म तेस्रो मुलुकबाट सबै प्रकारका वस्तुहरू रेलकार्गोमार्फत् ल्याउन सहमति दिएको हो।

‘भारतको वाणिज्य मन्त्रालयले नेपालको वाणिज्य मन्त्रालयलाई पत्र पठाउँदै अब तेस्रो मुलुकका सबै प्रकारका वस्तु ल्याउन पाउने गरी सहमति दिएको हो,’ शुक्रबार मन्त्री भण्डारीले विराटनगरमा भने, ‘अब  विराटनगरको आइसिपीसम्म एक महिनाभित्रै रेलकार्गोबाट समुद्रपारका सबै वस्तु ल्याउन पाइनेछ।’

मोरङ उद्योग व्यापार संघको ७४ औँ साधारण सभालाई सम्बोधनका क्रममा उनले यो जानकारी दिएका हुन्। नेपाल र भारतले यस अघि गरेको पारवहन सन्धीमा सीमित वस्तु मात्रै यसरी ल्याउन पाइने उल्लेख थियो। २०८० जेठ १८ मा नेपाल र भारतबीच नयाँ  पारवहन सन्धिमा हस्ताक्षर भएको थियो। तेस्रो देशबाट भारतको हल्दिया र कोलकाता बन्दरगाह हुँदै कोइला, क्लिंकर, सिमेन्ट र रासायनिक मल मात्र आयात गर्न पाइने सो सन्धिमा उल्लेख  थियो।  अब भने सबै सामान ल्याउन पाइने भएको मन्त्रीले जानकारी दिए।

‘दुई देशबीचको अन्तरसरकारी बैठकबाट आएको परिणाम हो यो,’ मन्त्री भण्डारीले भने, ‘बैठकमा नेपाल पक्षले रेलकार्गोबाट सबै प्रकारका वस्तु आयात गर्न पाउने गरी सन्धि संशोधन गर्ने मुद्दा उठाएको थियो। भारतीय पक्ष यसमा सहमत थियो। सोही अनुसार भारतबाट हामीलाई भर्खरै पत्र प्राप्त भएको छ। अब केही दिनभित्रै उक्त सहमति पारवहन सन्धिको अंग बन्ने छ। त्यसपछि रेलकार्गोमार्फत विराटनगरको आइसिपीसम्म तेस्रो मुलुकबाट जेजस्ता पनि सामानको आयात गर्न सकिने छ।’

मन्त्री भण्डारीले अबको एक महिनाभित्र यो सुविधा सुरू हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)