काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदैछन् । उनी आज साँझ काठमाडौं ओर्लिने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
बालेन शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन् ।
उनले शुक्रबार वा शनिबार प्रधानमन्त्रीसँग भेटका लागि समय मागे पनि अहिलेसम्म भेट सुनिश्चित नभएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
गोर हाल भारतका लागि अमेरिकी राजदूतसमेत हुन् र ट्रम्पका निकट सहयोगीका रूपमा चिनिन्छन्। उनको हैसियत सहायक विदेशमन्त्रीभन्दा उच्च मानिन्छ। नयाँ सरकार गठन (मार्च २७) यता नेपाल भ्रमणमा आउने उनी सबैभन्दा उच्चस्तरीय अमेरिकी कूटनीतिज्ञ हुन्। क्षेत्रीय भ्रमणका क्रममा गोरले बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्स का उच्च नेतृत्वसँग भेट गरिसकेका छन्।
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायतसँग भेट गर्नेछन् ।
विगतमा नेपाल भ्रमणमा आउने अधिकांश विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीसहित शीर्ष राजनीतिक नेतृत्वसँग भेट्ने प्रचलन रहे पनि वर्तमान सरकार गठनसँगै यो अभ्यासमा परिवर्तन देखिन थालेको छ।
बालेन्द्र शाह नेतृत्वको रास्वपाको सरकारले यस्तो भेटघाटमा नयाँ मापदण्ड अपनाउन थालेको संकेत दिएको छ। यसअघि अप्रिल २० मा तीनदिने नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरसँग पनि प्रधानमन्त्री शाहले भेट गरेका थिएनन्।
यसअघि उनले अप्रिल ८ मा विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गरेका थिए।
अमेरिकी दूतावासले नयाँ सरकारसँग आर्थिक सहकार्य सुदृढ गर्दै द्विपक्षीय सम्बन्ध अझ गहिरो बनाउने अपेक्षा व्यक्त गरेको छ।
