काठमाडौं- विश्व प्रेस काउन्सिलले नेपाली पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक–प्रकाशक किशोर श्रेष्ठको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ।
काउन्सिलले बिहीबार जारी गरेको विज्ञप्तिमा द्वतीय उपाध्यक्षसमेत रहेका श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको उल्लेख गरेको छ।
गोपनीयता कानुन उल्लंघनसम्बन्धी आरोपमा पक्राउ परेका श्रेष्ठ हाल काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा रहेको र पक्राउको केही घण्टापछि बिहीबार बिहान उनको कार्यालयमा समेत प्रहरीले छापा मारेको काउन्सिलले जनाएको छ।
काउन्सिलले पत्रकार तथा आफ्नो संस्थाका पदाधिकारीलाई हिरासतमा राखिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकारितासम्बन्धी गुनासो, गोपनीयता, तथ्यगत शुद्धता वा आचारसंहिताका विषयलाई स्थापित कानुनी, न्यायिक तथा प्रेस नियमनका संयन्त्रमार्फत सम्बोधन गर्नुपर्ने बताएको छ।
काउन्सिलले पत्रकार पक्राउको विरोधमा काठमाडौंमा पत्रकार तथा सञ्चार संस्थाहरूले गरेको प्रदर्शनले घटनाको गम्भीरता देखाएको उल्लेख गर्दै यस्तो पक्राउले सञ्चारमाध्यममा भय र दबाब सिर्जना गर्न सक्ने भन्दै नेपाल सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।
काउन्सिलका अध्यक्ष डेभिड ओमवोयोले प्रकाशित सामग्रीका कारण पत्रकार पक्राउ पर्नु अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र सञ्चारमाध्यमप्रति प्रतिबद्ध हरेक लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्। पत्रकारितामा गोपनीयता र तथ्यगत शुद्धताको सम्मान गर्नुपर्ने भए पनि त्यसको समाधान स्थापित कानुनी तथा व्यावसायिक प्रक्रियाबाट हुनुपर्ने उनको भनाइ छ।
काउन्सिलले श्रेष्ठलाई तत्काल रिहा गर्न, उनीविरुद्धको उजुरी वा अनुसन्धानलाई पारदर्शी र निष्पक्ष ढंगले अघि बढाउन तथा संविधानप्रदत्त अभिव्यक्ति र प्रेस स्वतन्त्रताको सम्मान गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।
त्यस्तै, प्रकाशित सामग्रीसम्बन्धी विवाद समाधानका लागि प्रेस काउन्सिल, सञ्चार नियामक निकाय तथा न्यायिक संयन्त्रको प्रयोग गर्न र पत्रकारलाई आफ्नो व्यावसायिक तथा सम्पादकीय जिम्मेवारी निर्वाह गरेकै आधारमा अनावश्यक हिरासत वा दबाबमा नपार्न पनि काउन्सिलले माग गरेको छ।
काउन्सिलले नेपालका पत्रकार तथा सञ्चारमाध्यमले प्रेस स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता र जिम्मेवार पत्रकारिताका पक्षमा गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाएको छ।
काउन्सिलका अनुसार विश्व प्रेस परिषद् संघमा ३० भन्दा बढी प्रेस काउन्सिल, सञ्चार नियामक निकाय तथा सञ्चार स्वनियमन संस्थाहरू आबद्ध छन्। संघले पत्रकारितामा नैतिक मापदण्ड कायम गर्ने, प्रेस स्वतन्त्रताको संरक्षण गर्ने र लोकतन्त्रको महत्वपूर्ण आधारका रूपमा पत्रकारितालाई सुदृढ बनाउने उद्देश्य राखेको जनाएको छ।
