सोमवार, भदौ १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

*गणतन्त्र इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलनसहित विभिन्न कार्यक्रम आयोजना*


  • माउन्टेन खबर
  • सोमवार, भदौ १, २०८३
  • 40
    SHARES

काठमाडौं — नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आज आइएमई कम्प्लेक्स, पानीपोखरीमा झण्डोत्तोलनसहित विशेष कार्यक्रम आयोजना गरी इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवस मनाएको छ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का निवर्तमान अध्यक्ष समेत रहेका गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको राष्ट्रिय झण्डा फहराउनुभयो।

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सन् १९६० मा नेपाल र इन्डोनेसियाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको मित्रता क्रमशः सुदृढ हुँदै गएको बताउनुभयो। उहाँले विशेषगरी व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा दुईपक्षीय सम्बन्ध थप मजबुत बन्दै गएको उल्लेख गर्नुभयो।

स्वतन्त्रता दिवसको सन्दर्भमा आयोजना गरिएका विशेष कार्यक्रमहरूले इन्डोनेसियाको आर्थिक, सामाजिक र सांस्कृतिक महत्वलाई झल्काएका थिए, जसले नेपाल र इन्डोनेसियाबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप उजागर गरेको छ।

नेपाल र इन्डोनेसियाबीच व्यापार, पर्यटन र लगानी बढ्दो क्रममा रहेको छ । नेपालले इन्डोनेसियाबाट खाद्य तेल, कोइला तथा पेट्रोलियम पदार्थ, कागज तथा कागजजन्य वस्तु आयात गर्छ भने नेपालबाट छाला, चिया, कफी, हस्तकलाजन्य वस्तु लगायतको निर्यात हुने गरेको छ।

दुई देश बीच रहेको व्यापार असन्तुलन कम गर्न नेपालले निर्यात बढाउन तथा प्रत्यक्ष लगानी आकर्षित गर्न थप संयुक्त प्रयास आवश्यक रहेको वाणिज्य दूत कार्यालयले जनाएको छ।

ढकालले नेपालमा रहेका इन्डोनेसियाली समुदायका सदस्यहरूको उपस्थितिप्रति धन्यवाद व्यक्त गर्दै, व्यापार, लगानी र पर्यटन क्षेत्रमा दुई मुलुकबीचको सहकार्य थप विस्तार गर्न वाणिज्य दूत कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो।

उक्त कार्यक्रममा नेपालस्थित इन्डोनेसियाली समुदाय, वाणिज्य दूत कार्यालयका कर्मचारीहरू, आइएमई ग्रुप अन्तर्गत विभिन्न संघसंस्थाका विशिष्ट नेतृत्व तथा प्रतिनिधिहरू, शुभचिन्तक लगायत विभिन्न महानुभावहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)