बिहिबार, भदौ ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढीः २ सय ५८ जनाको शव फेला, ९ सय १० सम्पर्कविहीन


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ११, २०८३
  • 49
    SHARES

काठमाडौँ – रसुवामा आएको बाढीका कारण हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन् ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म देशभर २ सय ५८ जनाको शव फेला परेको हो । यस्तै ९ सय १० जना सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार चितवनमा सबैभन्दा धेरै १ सय ८ वटा शव फेला परेका छन् । नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२, तथा रसुवामा २ वटा शव फेला परेको उहाँले जानकारी दिनुभयो । यस्तै नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छन् । रसुवाका अन्य १६१ जना नागरिक र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार बाढीका कारण ३५ देशका ५ सय १७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको तथ्याङ्कमा उल्लेख छ । नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १ सय २७ जना नेपाली पनि सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मानवीय क्षतिको कुरा गर्दा अहिलेसम्म २५८ जनाको शव फेला परेको छ । धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोर्खामा २०, नवलपरासी पूर्वमा ६२ वटा, तनहुँमा १२, चितवनमा १०८ वटा र नवलपरासी पश्चिममा १५ वटा शव फेला परेको छ । ९१० जना व्यक्ति सम्पर्कविहीन भनेर हाम्रो तथ्याङ्कले देखाउँछ । हामीले आधिकारिक निकायहरूबाट प्राप्त तथ्याङ्कलाई एक्युमुलेट गरेर यहाँ राखेका छौँ। यसमा नेपाल प्रहरी २८ जना, नेपाली सेना ४४ जना, सशस्त्र प्रहरी बलबाट १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालय ४ जना, अन्य व्यक्तिहरू रसुवाको भनेर १६१ जना छ । नुवाकोटको १ जना छ । त्यहाँसँगै अब सम्पर्कविहीन भएका विदेशी नागरिक ५ सय १७ जना हुनुहुन्छ अहिलेसम्म ३५ वटा देशका ५१७ जना फरेनर्सहरू सम्पर्कविहीन हुनुहुन्छ । नेपाल घुम्न आएका विदेशमै रहने नेपाली नागरिक भनेर १२७ जना हुनुहुन्छ । त्यसै गरी हामीले खोज तथा उद्धारमा हाम्रो तीनवटा सेक्युरिटी एजेन्सीका ९ हजार २६० जना सुरक्षाकर्मीहरू फिल्डमा खटिनुभएको छ । त्यसमा नेपाल प्रहरीबाट ३ हजार ३१८ जना, नेपाली सेनाबाट ४ हजार २०० जना, सशस्त्र प्रहरी बल नेपालबाट १ हजार ७४२ जना गरेर ९ हजार भन्दा बढी सुरक्षाकर्मीहरू चाहिँ प्राक्टिकल फिल्डमा खटेर उद्धारको कामहरू, खोजीका कामहरू भइराखेको छ । हामीले आज २ बजेसम्म ३५१ जना प्रभावितहरूलाई हेलिबाट उद्धार गरेका छौँ । आज उद्धारका लागि आज मात्रै ६९ वटा हवाई उडानहरू भएका छन् । विदेशी नागरिकको हकमा ४६ जना विदेशी नागरिकहरू रेस्क्यु गरिएको छ ।’

उहाँकाअनुसार खोज तथा उद्धारका लागि नेपालका तीन वटै सुरक्षा निकायबाट ९ हजार २६० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका ४ हजार २ सय र सशस्त्र प्रहरी बलका १ हजार ७४२ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन् । प्रवक्ता महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म हेलिकप्टरमार्फत ३ सय ५१ जना प्रभावितको उद्धार गरिएको छ । उद्धारका लागि बिहीबार मात्रै ६९ वटा हवाई उडान भएको उहाँले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक समेत रहेका छन् । प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)