मङ्लबार, भदौ १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढी: सुरुङ र पावर हाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १६, २०८३
  • 47
    SHARES

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावर हाउसमा फसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनले गुनासो गरेका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनको ललितपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तहरूले यस्तो गुनासो गर्नुभएको हो । विपद्पछिको खोज तथा उद्धारमा सरकारले केही काम गरे पनि सुरुङ र पावर हाउसमा रहेका नागरिकको उद्धारमा उदासीनता देखाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे । बाढीमा परि सम्पर्कविहीन हुनुभएका इन्जिनियर नीरजबाबु रेग्मीका काका यमलाल रेग्मीले सरकारले सुरुङ तथा पावर हाउसमा फसेका नागरिकको उद्धारमा सक्रियता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले ६ दिनदेखि भतिज नीरजको उद्धार गरिदिन भन्दै राज्यका निकायहरूमा हारगुहार गर्दा समेत अपेक्षित सहयोग पाउन नसकेको बताउनु भयो । उहाँले सरकारले जङ्गलमा रहेका तथा अन्य नागरिकको उद्धार गरेको भए पनि सुरुङ र पावर हाउसमा रहेका नागरिकको उद्धारमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । उहाँले बेल्चा लिएर गएर मात्र सुरुङ खोल्न नसकिने भन्दै उहाँले विदेशको सहयोगमा भए पनि नागरिकको उद्धार प्रणाली प्रभावकारी बनाउन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो भतिज सम्पर्कविहीन भएको छ । मैले उसको उद्धारको लागि मन्त्रालय र राज्यका निकायहरूसँग समेत हारगुहार गरिरहेका छौँ । त्यहाँ मेरो भतिज मात्र होइन थुप्रै जना अड्किनुभएको अवस्था छ । सरकारले उद्धार गरेको छ नगरेको होइन । तर प्राथमिकता कतातिर हुनुपर्ने हो त्यतातिर प्राथमिकतामा परेन जस्तो हो । अस्ति मात्र त्रिसुली ए मा नै मन्त्रीज्यूले मसिन लैजान सकिएन भन्ने जवाफ बाढी आएको तेस्रो दिनमा जवाफ दिनुभयो । उद्धार गर्ने भनेर केही उद्धारकर्मीहरु बेल्चा लिएर परिचालन गरिएको थियो । अब भन्नुस् हाम्रो व्यवस्थापकीय क्षमता कस्तो रहेछ ?’


नारायणी जोशीले आफ्ना श्रीमानसहित नेपाल विद्युत् प्राधिकरणका ४० जना कर्मचारी त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनामा उद्धारको पर्खाइमा रहेको बताउनु भयो । उहाँले त्रिशूली थ्री ए को पावर हाउस अन्य पावर हाउसको तुलनामा सुरक्षित रहेको जानकारी पाएपछि परिवारजन उनीहरू जीवितै रहेको आशामा उद्धारको प्रतीक्षा गरिरहेको बताउनु भयो । उहाँले उद्धारको पखाईमा रहेका नागरिकको उद्धारमा सरकारले तदारुकता नदेखाएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले एक दुई जना नभई सुरुङ र पावर हाउसमा सयौँ नागरिक फसे पनि सरकारले यस्तो जटिल स्थितिलाई समेत हलुका रूपमा लिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘१० असारको बाढीमा मेरो श्रीमानसहित ४० जना एनइएका कर्मचारी त्रिसुली थ्री ए मा हाइड्रोपावरमा अड्किएर बस्नुभएको छ ।  त्यो पावर हाउस अन्य पावर हाउसभन्दा सेफ छ भन्ने सुनिएको छ । त्यस कारण हाम्रा आफन्तहरू त्यहाँ जीवित छन् भनेर आशासहित राज्य संयन्त्रसँग हारगुहार गरिरहेका छौँ । उद्धारमा नै सरकारको सक्रियता छैन । यति क्रिटिकल कुरालाई गर्भमेन्टले यति हलुका रुप्मा कसरी लियो । बाढी आएको दोस्रो दिनमै उद्धार हुनुपर्नेमा ६ दिन भइसक्यो । सरकारको प्राथमिकता के हुनुपर्थ्यो ?’
सम्पर्कविहीन भएका नागरिकका आफन्तले उद्धारमा सरकारको सक्रियता पर्याप्त नभएकै कारण बाढी आएको ६ दिन बितिसक्दा पनि आफन्तहरू सम्पर्कमा नआएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)