काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पु¥याएको छ ।
बाढीले सयौँको ज्यान गएको छ भने हजारौँ सम्पर्कविहीन भएका छन् । रसुवाको टिमुरे, बेत्रावति, स्याँप्रुवेशी लगायतका बजार बालुवाको बगरमा परिणत भएका छन् । रसुवा र नुवाकोटको सीमावर्ती बेत्रावती क्षेत्रका स्थानिय विनाशकारी बाढीले बस्ती नै तहसनहस बनाएको बताउँछन् । बेत्रावतीबाट आफन्तको सहयोगमा करिव ९ घण्टा लगाएर आईतवार राती केही बाढी प्रभावित काठमाडौं आईपुगेका छन् । उनीहरुकाअनुसार बाढीमा ठूलो मानवीय तथा भौतिक क्षति भएपनि उद्धार र राहत समयमै प्रभावित क्षेत्रमा पुग्न सकेको छैन । रसुवाको उत्तरगया गाउँपालिका–५, बेत्रावतीकी शान्ति अधिकारीकाअनुसार बाढी आएको सूचना पाएपछि स्थानीयवासी आफैँ एकअर्कालाई खबर गर्दै ज्यान जोगाउन भागेका थिए । बाढीको सूचना त्यहाँका पूर्ववडाध्यक्षले स्कुटरमा बसेर दिँदै हिँडेका कारण धेरैले ज्यान जोगाउन सकेको अधिकारी बताउनुहुन्छ । प्रहरीले समयमै सूचना नदिएको उहाँको गुनासो छ । बाढीले सयौँ मान्छे र घरहरु बगाएको उहाँले बताउनु भयो । उहाँका अनुसार बाढीअघि रसुवातर्फ मात्रै करिब एक सय घरको बस्ती थियो । अहिले रसुवा र नुवाकोट दुवैतर्फका प्रभावित क्षेत्रमा घरबस्तीको नामनिसाना छैन । बाढीपछि उद्धार र राहतमा सरकारले चासो नदिएको उहाँको गुनासो छ । राहत सामग्री नुवाकोटको विदुर क्षेत्रमा थुप्रिएपनि रसुवातर्फ पुग्न नसकेको उहाँले बताउनु भयो । उहाँले न्यायोचित राहत वितरण गर्न र तत्काल पुनःस्थापना र पूर्वाधार निर्माण थाल्न सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बाढी आएको सुचना पुरानो वडाध्यक्षले स्कुटरमा भन्दै हिँड्नुभयो तर प्रहरीले केही खबर गरेनन्, बाढीले आएको खबर पाएपछि मेरो श्रीमानले अरुलाई पनि खबर गर्नुभयो, बाढी आएपछि हामीले भागेर ज्यान जोगायौँ, बाढीले धेरै मान्छेले ज्यान गुमाएका छन्, घरहरु सबै बगाएको छ, घरजग्गा, मन्दिर भएको ठाउँ बगर बनेको छ । मेरो दुई रोपनीमा घर थियो, नाम निशाना अहिले केही छैन, सकुम्बासी भइयो । हाम्रो ठाउँ रसुवामा १ सय हाराहारीमा घर थियो, नुवाकोटतिर कति थियो भन्ने थाहा छैन । तर रसुवा र नुवाकोट दुबैतिरका घरको नामनिशाना केही पनि छैन । राहत नुवाकोटमा मात्रै थुप्रिएको छ, जानुप¥यो नी माथी रसुवा । राहत अहिलेसम्म रसुवा पुग्न सकेको छैन । बाटो सजिलो भयो, नुवाकोटमा गएर बसेको छ । यत्रो पैसा आएको छ, प्रधानमन्त्रीको कोषमा, विदेशीको पनि आउँदैछ । अब पुल हाल्नुप¥यो, सडक सञ्जाल जोडेर हामीलाई ४ कोठाको घर बनाईदिनुपर्छ । पैसाको सदुपयोग होस्, सरकार । जे पायो त्यही गर्न पाइँदैन । पीडितले पारदर्शी ढंगले उचित राहत पाउनुपर्छ ।’
नुवाकोटतर्फकी बेत्रावतीवासी लक्ष्मी डंगोलले पनि बाढीअघि आफूहरूलाई प्रभावकारी पूर्वसूचना नदिएको गुनासो गर्नुभयो । पर्याप्त पूर्वसूचना नभएका कारण धेरैले ज्यान गुमाउनु परेको उहाँको भनाई छ । बाढी आएका थाहा पाएपछि श्रीमानश्रीमति नै माथितिरको डाँडातिर भागेर ज्यान जोगाउन सफल भएको उहाँले बताउनु भयो । डाँडामा पुगेपछि बेत्रावती बजार तहसनहस भएको, मानिसहरू बगेको र घरहरू ढलेको दृश्य देखेको उहाँले बताउनु भयो । उहाँकाअनुसार बाढीमा फसेकाहरु उद्धारको लागी गुहार मागिरहेका थिए । बुधवार विहान करिव साढे ९ बजे बाढी आएपनि उद्धार टोलि तीन दिनपछि मात्रै पुगेको उहाँले बताउनु भयो । केही हेलिकप्टर उडिरहेको देखिएपनि फसेका मानिसको उद्धार हुन नसकेको उहाँको गुनासो छ । उहाँकाअनुसार बेलैमा सरकार पुगेर उद्धार गरेको भए धेरै मानिस बाँच्ने सम्भावना थियो । नजिकै आर्मी क्याम्प र प्रहरी चौकी भएपनि फसेका मानिसलाई सुरक्षित ठाउँमा निकाल्न सहयोग नगरेको उहाँको आरोप छ । बाढीले डंगोलको बहिनी तथा परिवारका धेरै सदस्यले ज्यान गुमाएको छन् । उहाँले सरकारले सासको उद्धार गर्न नसके पनि लाशको खोजी गरिदिनुपर्ने बताउनु भयो । उहाँले राहत पनि पीडितले पाउन नसकेको बताउनु भयो । सरकारले सबैलाई न्यायोचित ढंगले राहत वितरण गर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘बाढी आएको सूचना हामीलाई कसैले पनि दिएन, यत्रो ठूलो आउँछ भन्ने विश्वास पनि भएन । पहिला पहिला पनि सानोतिनो आईरहन्थ्यो, सानो तिनो आउला भन्ने थियो तर सोच्नै नसकिने भयंकर बाढी आयो । खाटमा औषधि र मोवाईल भएको झोला थियो, त्यही बोकेर श्रीमान् श्रीमती नै माथी डाँडातिर भाग्यौँ । बल्लतल्ल माथी पुगेर हेर्दा बेत्रावती तहसनहस भएको देखियो, मान्छे बगाएको छ, घर लडाएको छ, मान्छेले गुहार मागिरहेका थिए तर हेरेर बस्न बाहेक अरु केही गर्न सकिएन । साँढे नौ बजे खोला आएको ३ बजेसम्म हामीले माथी बसेर हेरिरहेका छौँ, तर सरकार पुगेन । फसेका मान्छेहरु गुहार मागिरहेका थिए, बेलैमा सरकार पुगेर उद्धार गरेको भए धेरे बाँच्ने सम्भावना थियो । माथीबाट हेलिकप्टर हिडिरहेको थियो, तर मान्छेको उद्धार गरेन । मेरो बहिनी, दाजुभाई खलक धेरैले ज्यान गुमाए । नजिकै आर्मी क्याप्प, पुसिल चौकी पनि थियो, हेलिकप्टर लगेर डोरी तान्न दिएर फसेका मान्छेलाई पाखामा निकालिदिएको भएमात्रै पनि सयौँ मान्छे बाँच्ने थिए । बाढी गएको दिन कुनै सरकार त्यहाँ पुगेन । बाढी गएको ३ दिनपनि १०÷१५ जना प्रहरी पुगेको थियो । सरकारले अब सासको उद्धार गर्न नसकेपनि लासको खोजी गरिदिए हुन्थ्यो । राहत सकेसम्म न्यायोचित रुपमा सबैलाई वितरण होस्, राहत लगिएको छ तर विस्तापितले पाएको छैन ।’
रसुवाकी शान्ता थापाले बाढीबाट ज्यान गुमाएकाहरुको शब अझै बगरभरी रहेको बताउनु भयो । अझै धेरै शव निकाल्न बाँकी रहेको उहाँको भनाइ छ । शव गन्हाउन थालिसकेको भएपनि नजिकै रहेको सेना, प्रहरी, सशस्त्र प्रहरी कोही नपुगेको उहाँको गुनासो छ । विपद्को समयमा पीडितले राज्यको साथ नपाएको उहाँले बताउनुभयो । उहाँले बाढीले सुकुम्बासी भएका नागरिकको गाँस, वास र कपासको व्यवस्था सरकारले गर्नुपर्ने बताउनु भयो । पीडितलाई सुरक्षित ठाउँमा पुनःस्थापित गर्न पनि उहाँले सरकारसंग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बाढी आएको देखेपछि भागेर ज्यान जोगाईयो तर खाना थिएन, प्रेसरको औषधि खाने गरेको थियो, त्यो पनि भएन । बाढी गएको धेरैपछि उद्दारको लागि पाँच जना प्रहरी खटेका थिए, रसुवातिर शव बगरभरि छ, अहिलेसम्म निकालेको छैन । आर्मी क्याम्प नजिकै छ, तर एउटा आउँदैन, शव गन्हाउन थालिसक्यो । सेना, प्रहरी, शसस्त्र कोही पुगेको छैन, छोराले काठमाडौमा मलाई आईतवार राती साँढे १ बजे काठमाडौ ल्यायो । दुःखमा कसैले हेर्ने रैनछ । राहत अहिलेसम्म पाएको छैन, गाँस बास र कपासको व्यवस्था सरकारले गर्नुपर्छ । हाम्रो केही छैन, सुकुम्बासी भयौँ । पीडितलाई सरकारले सुरक्षित ठाउँमा पुनस्र्थापित गर्नुपर्छ ।’
रसुवा बेत्रावतीका व्यापारी निर्मल प्याकुरेलका बाढीले आमा, बाजे र पसलमा काम गर्ने एक महिलासहित परिवारका चार जना सम्पर्कविहीन छन् । बाढीले पसलमा रहेका ५० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बगाएको छ । उहाँले बेपत्ता भएका परिवारका सदस्यलाई खोजिदन सरकारसँग आग्रह गर्नुभयो । साथै बेत्रावति लवगायत रसुवातिरका बाढीपीडितले अहिलेसम्म राहत नपाएकोले तत्काल रात वितरण गर्न उहाँले माग गर्नुभयो । उहाँकाअनुसार रसुवाका दुर्गम प्रभावित क्षेत्रमा अझै राहतको ठूलो आवश्यकता छ । नुवाकोटको विदुरमा राहत पुगेपनि रसुवातिर नगएको उहाँको भनाई छ । रसुवामा ग्यास, नुन, चामल, तेल सबैको अभाव हुन थालेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रसुवा जाने पुलको मुखमा नै मेरो भाडा पसल थियो, बाढीले ममी र काम गर्ने महिला सम्पर्कविहीन हुनुहुन्छ । ममीले बाढी आएको मलाई खबर गर्नुभयो, ममीलाई हेरे कतै देखिन, उहाँ भाग्नुभयो होला भनेर म पनि भागे, सबै भागिरहेका थिए, तर ममीलाई भेटिएन । हामी भागेर हामी माथिको विद्यालयमा पुग्यौँ, त्यहाँबाट हेर्दा बजार मरुभुमि देखियो । घर पुरै भत्किएको त छैन, तर काम लाग्ने पनि छैन, पसलमा भएको ५० लाख रुपैयाँ भन्दा बढीको समान बगायो । परिवारमा हाम्रो ४ जना परेका छन्, दुई जना बाजे पनि बेपत्ता हुनुहुन्छ । सरकारलाई खोजिदिनु आग्रह गर्छु, पीडितले राहत अहिलेसम्म पाएको छैन । हामीलाई दाईले सरमथली यार्चा रथ्याङ हुँदै ७ घण्टा लगाएर काठमाडौबाट गएर हामीलाई उद्धार गरेर ल्याउनुभयो । पीडितहरु रसुवामा अझ धेरै छ, उनीहरुलाई राहत बेलैमा पु¥याउनुपर्छ । हामीले पनि आफन्तसंग जम्मा गरेर राहत पठाउन खोजिरहेका छौँ । नुवाकोटको विदुरमा राहत पुगेको छ, रसुवातिर छैन । रसुवामा ग्यास, नुन, चामल, तेल सबैको अभाव छ, बाटो छैन । हामी काठमाडौं आएकोलाई तत्काल केही गर्न पर्दैन, गाउँमा रहेकालाई राहत सरकारले तत्काल लैजानुपर्छ ।’
बेत्रावतीकै रानु अधिकारीले ऐतिहासिक बेत्रावती बजारको अहिले अस्तित्व नै नरहेको बताउनु भयो । खोलाको छेउमा बस्ती बसेकाले क्षति भएको भन्ने तर्क गरिएकोप्रति असन्तुष्टी जनाउँदै उहाँले बेत्रावती नयाँ बस्ती नभई ऐतिहासिक ठाउँ भएको उल्लेख गर्नुभयो । बाढीले धेरै आफन्त अझै बेपत्ता रहेकोले उनीहरूले शव खोजीका लागि पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो । उहाँले पनि रसुवामा राहत नपुगेको बताउनु भयो । बेत्रावती र त्यसभन्दा माथिका गाउँमा राहत तथा सरकारी सहयोग तत्काल पु¥याउनुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘बेत्रावति ईतिहास बोकेको बजार हो, नयाँ बसेको बजार होईन, मान्छेहरुले खोलाको छेउमा बस्ती बसाउँदा क्षति भयो पनि भन्ने गरेका छन् । त्यो ऐतिहासिक ठाउँ हो तर अहिले ठाउँ छैन, गाउँ छैन, अस्तित्व नै छैन । मानवीय क्षति ठूलो छ, भौतिक क्षति त्यतिकै भएको छ, बाँचेकाहरु सुकुम्बासी भएका छन् । अहिले हाम्रो धेरै जना आफन्त हराउनुभएको छ, भटिएको छैन, सरकारले सास नभएपनि कम्तिमा लास खोजिदिओस् । सरकारले नगरेको भन्दिन, गरेको छ तर ठाउँमा पुगेको छैन । बेत्रावतिबासीहरु भोकै हुनुहुन्छ । काठमाडौंमा आएकाहरु पनि सबै आफै आएका हुन् । सरकार हामी यहाँ आएकाहरुले आफ्नो व्यवस्था आफै गर्छौ तर बेत्रावति र त्यो माथीको गाउँमा केही पुगेको छैन, त्यतातिर ध्यान दिनुहोला । राहतजति सबै विदुरमा थन्किएर बसेको छ । हाम्रो अनुरोध छ, ठाउँमा राहत पुगोस्, पीडितले न्याय पाओस् ।’
सरकारले संकलन गरेको राहत सबै नुवाकोटको विदुरमा थुप्रिएको छ । रसुवातर्फ भने सरकारले राहत र उद्धार कार्य दुवै गर्न सकेको छैन । रसुवाका बाढीपिडितहरुले नुवाकोटबाट कटेर रसुवाको चीन नाकासम्म पुग्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौं आएका बाढी पीडितहरुले आफूलाई तत्काल बरु केही नचाहिने तर विचल्ली भएर गाउँमा बसेकालाई राहत, उद्धार र पुनःस्थापनामा सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् । –न्युज एजेन्सी नेपाल
