काठमाडौँ – सरकारले रसुवा बाढीका कारण प्रभावित भएका ३८ देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ ।
सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावासहरूसँगको समन्वयमा तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको बताउनुभएको हो । प्रवक्ता पौडेल क्षेत्रीकाअनुसार सरकारले विपद्पछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्पष्ट रूपमा प्राविधिक सहयोगको माग गरेको छ ।
उहाँले भन्नुभयो, ‘हामीलाई सुरुङमार्गमा हुनसक्ने उद्धारका लागि दक्ष टनेल रेस्क्यु टोली, पुरिएका शवहरू फेला पार्न आइएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता छ ।’
केही फ्रिजरहरू प्राप्त भइसकेको र केही आउने क्रममा रहेको समेत उहाँले जानकारी दिनुभयो । मृतकको पहिचानका लागि फरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट्ससहितको प्राविधिक सहयोग समेत माग गरिएको छ । राहत वितरणका लागि केही सामग्रीहरूको आवश्यकता रहेको उल्लेख गर्दै प्रवक्ता क्षेत्रीले दीर्घकालीन पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि ‘विपद्पछिको आवश्यकता मूल्यांकन’ सम्पन्न भएपछि मात्र थप सहयोगको खाका तय गरिने स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल
