बिहिबार, भदौ १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १८, २०८३
  • 30
    SHARES

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन् । बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना रहेका छन् । त्यस्तै भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाका करिब ८६५ जना सम्पर्कविहीन छन् ।

प्राधिकरणका अनुसार नुवाकोटका १ हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका १६४ जना नेपाली पनि सम्पर्कविहीन छन् । जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह तथा मातहतका कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । खोज तथा उद्धारमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ सुरक्षाकर्मी खटिएका छन् ।

५ हजारभन्दा बढीको उपचार

बाढीबाट प्रभावितमध्ये हालसम्म ५ हजार १३५ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ । विभिन्न अस्पतालमा ३०१, नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरी बल नेपालबाट १ हजार ६२८ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन् ।

हाल ३ हजार ९४८ जनालाई ‘होल्डिङ सेन्टर’मा राखिएको छ । बाढीमा परी हालसम्म १ हजार २५२ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, तनहुँमा ३८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ ।

हवाई उद्धारलाई प्राथमिकता

दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ ।

सेनाका अनुसार हालसम्म ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरिएको छ । खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ७१५ पटक हवाई उडान गरेको छ । बुधबार मात्रै सेनाले २५ वटा हवाई उडान सञ्चालन गरेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै निजी क्षेत्रबाट समेत हालसम्म १२९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग पुगेको छ ।

सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम क्षेत्रमा हवाई माध्यमबाट उद्धारसँगै राहत सामग्री पुर्‍याउने कार्य जारी रहेको प्राधिकरणले जनाएको छ । अझै ४ हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धारलाई थप तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)