काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। सोमबार नुवाकोट पुगेर उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र बाढी पीडित नागरिकहरुसँग भेट गरेका हुन् ।
सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरू रहेको होल्डिङ सेन्टरको अवलोकन गरे। त्यहाँ बाढीबाट प्रभावित नागरिकहरूले भोटेकोशीमा आएको बाढीले पुर्याएको धनजनको क्षतिबारे जानकारी गराए। खोज, उद्धार, राहत एवम् पुनर्स्थापनाका लागि सरकार र सरोकारवालाहरूले अझ तदारुकता देखाउनुपर्ने धारणा प्रभावितहरूले राखेका थिए।
राष्ट्रपति पौडेलले बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढी प्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन्।
