शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौँ महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने


  • माउन्टेन खबर
  • शनिबार, भदौ २७, २०८३
  • 34
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गका जलनका पीडितलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराउने भएको छ ।

 

 

 

यसका लागि महानगरपालिकाले शुक्रवार जनस्वास्थ्य सरोकार ट्रस्ट (पीएचइसिटी)अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार विपन्न, हिंसा पीडित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार पाउनेछन् ।

काठमाडौँ महानगरपालिका क्षेत्रमा बसोबास गर्ने स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँ सराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यसमेत यो सेवाका लाभग्राही सम्झौतामा उल्लेख छ । जलनका बिरामीको निःशुल्क उपचारका लागि काठमाडौँ महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

त्यसमध्ये १ करोड रुपैयाँको ‘जलन उपचार कोष’का लागि छुट्टाइएको छ भने बाँकी १ करोड रुपैयाँ अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका स्वास्थ्य उपकरण तथा सामग्रीको भुक्तानीका प्रदान गरिएको हो । सम्झौताअनुसार बिरामीले क्याबिन, ईएचएस वा कस्मेटिक उपचार रोजेमा कोषबाट खर्च व्यहोर्ने छैन । चालु आर्थिक वर्षमा कोषको रकम खर्च हुन नसके आगामी आर्थिक वर्षमा खर्च गर्नुपर्नेछ ।

सम्झौता कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलन पीडितलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन कोष स्थापना गरिएको बताउनुभयो । उहाँले आगलागी नियन्त्रणमा खटिने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा महानगरवासीका लागि जलनबाट बच्ने उपायसम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गरिने समेत बताउनुभयो । उहाँले जलन दुर्घटना न्यूनीकरण, प्राथमिक उपचार तथा सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम र तालिमसमेत गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कसैले जलन भोग्नु नपरोस् । भवितव्य पर्‍यो भने पैसा नभएर अस्पताल नलैजाने अवस्था नआओस् । बल्लबल्ल अस्पताल पुर्‍याएपछि बिरामी छोडेर पैसाको खोज्न जानु नपरोस् । यसका लागि कोषको व्यवस्था गरेका हौँ।


आगलागी नियन्त्रण गर्दा फ्रन्ट लाइनमा बसेर काम गर्ने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी र महानगरवासीलाई जलनबाट बच्ने उपायको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नेछौँ । जलनमा पर्नेलाई २ लाख रुपैयाँ सम्मको निःशुल्क उपचार प्रदान गर्नेछौँ ।’

सम्झौता पत्रमा महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)