आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उचाइ ( लघुकथा )


  • माउन्टेन खबर
  • आइतवार, भदौ २८, २०८३
  • 26
    SHARES

उचाइ

धरतीको पिँद हल्लियो । ज्वारभाटाका लहराहरू र लाभाहरू एक साथ क्षितिजमा देखिए । कोलाहल सन्नाटामा रूपान्तरण भयो। भयभीत पहाडले फैलिएर अनुनय गर्यो- “मलाई उम्रिन देउ । म धराकाे जरालाई शीतल बनाउँछु। कोलाहल थाम्छु। स्थिरता देखाउँछु ।” ब्ल्याकहोल आदेश दियो- “सबैलाई समेट !”

आकाश फैलियो र काख दिँदै भन्यो-  “तिम्रो उचाइ पाे, उचाइ हो । अरुको उचाइमा को चढ्छ र ? यहाँ तिम्रो उचाइको मापन हुन्छ । तिमी उचाइलाई उजिल्याउ । म शीतल आँत दिन्छु।”

पहाड खित्कियाे । आकाशबाट केही बुँद झरे । हावा बहन थाल्यो। आशाको फूल फुल्यो तर फूलको जरामा अभिमान अङ्कुरायो।

एकाएक खालीहरू जुध्न थाले । एउटा खालीले मुखभरिको खाली समायो र आकाशमा हान्यो ।

खाली शून्यतामा हरायो।  खालीले ठान्यो- “मैले जितेँ ! सबै शून्य भयो।”

उन्मत्त पहाड आकाशतर्फ हेलियाे र सुसाउन थाल्यो । सुसाउँदा फँडा खुल्यो ।  टाउकोमा केही जिब्राहरू झुण्डिए । जिब्रामा असंख्य थैलीहरू सलबलाउन थाले। उसले शिर र शरीर दुवै हल्लायो। घोप्टिएर गहिराइमा हेर्यो । थैलीहरू छरपष्ट  देखिए। घोप्टा थैली देखेर उसले ठान्यो- “मैले संसार सम्याइ सकेँ।” आकाश खुम्चियो अनि फुक्यो -आकाश बन्यो। पहाड खुम्चियो अनि फुक्यो – मक्कियो।

पहाड जोडतोडले तन्कियो । गर्भगृहमा ज्वारभाटा सल्किए । ऊ बिस्तारै बिस्तारै आकाशतिरै हेलियो र समाउने जमर्को गर्यो । आकाश टक्क अडियो !

पहाडले आकाश चिथोरी रह्यो, खोतली रह्यो तर भेट्दै भेटेन, अनन्तता अनन्तसम्म ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)