उचाइ
धरतीको पिँद हल्लियो । ज्वारभाटाका लहराहरू र लाभाहरू एक साथ क्षितिजमा देखिए । कोलाहल सन्नाटामा रूपान्तरण भयो। भयभीत पहाडले फैलिएर अनुनय गर्यो- “मलाई उम्रिन देउ । म धराकाे जरालाई शीतल बनाउँछु। कोलाहल थाम्छु। स्थिरता देखाउँछु ।” ब्ल्याकहोल आदेश दियो- “सबैलाई समेट !”
आकाश फैलियो र काख दिँदै भन्यो- “तिम्रो उचाइ पाे, उचाइ हो । अरुको उचाइमा को चढ्छ र ? यहाँ तिम्रो उचाइको मापन हुन्छ । तिमी उचाइलाई उजिल्याउ । म शीतल आँत दिन्छु।”
पहाड खित्कियाे । आकाशबाट केही बुँद झरे । हावा बहन थाल्यो। आशाको फूल फुल्यो तर फूलको जरामा अभिमान अङ्कुरायो।
एकाएक खालीहरू जुध्न थाले । एउटा खालीले मुखभरिको खाली समायो र आकाशमा हान्यो ।
खाली शून्यतामा हरायो। खालीले ठान्यो- “मैले जितेँ ! सबै शून्य भयो।”
उन्मत्त पहाड आकाशतर्फ हेलियाे र सुसाउन थाल्यो । सुसाउँदा फँडा खुल्यो । टाउकोमा केही जिब्राहरू झुण्डिए । जिब्रामा असंख्य थैलीहरू सलबलाउन थाले। उसले शिर र शरीर दुवै हल्लायो। घोप्टिएर गहिराइमा हेर्यो । थैलीहरू छरपष्ट देखिए। घोप्टा थैली देखेर उसले ठान्यो- “मैले संसार सम्याइ सकेँ।” आकाश खुम्चियो अनि फुक्यो -आकाश बन्यो। पहाड खुम्चियो अनि फुक्यो – मक्कियो।
पहाड जोडतोडले तन्कियो । गर्भगृहमा ज्वारभाटा सल्किए । ऊ बिस्तारै बिस्तारै आकाशतिरै हेलियो र समाउने जमर्को गर्यो । आकाश टक्क अडियो !
पहाडले आकाश चिथोरी रह्यो, खोतली रह्यो तर भेट्दै भेटेन, अनन्तता अनन्तसम्म ।
