भाद्र शुक्ल तृतीयाको यो उज्यालो बिहानी । जब बागमतीको कञ्चन किनारमा अवस्थित देवाधिदेव महादेवको परम पावन धाम श्री पशुपतिनाथको चारै ढोका खुले, तब मानौँ सारा काठमाडौँ उपत्यका र सिङ्गो देश नै रातो रङ्गको पवित्र समुन्द्रमा रूपान्तरित भयो । सिन्दूरको लाली, पोतेको हरियो आभा, पहेँलो चुराको झङ्कार र हातमा सजिएका मेहन्दीका बुट्टाहरूले पशुपति परिसरलाई मात्र होइन, धर्ती र आकाशलाई नै नववधू झैँ सिँगारेका थिए ।
हरितालिका तीज–यो केवल एउटा पर्व मात्र होइन, यो त नारी हृदयको अटुट सङ्कल्प, अखण्ड सौभाग्यको अभिलाषा, त्याग, तपस्या र शिव–पार्वतीको अमर प्रेमको साक्षात् प्रतिमूर्ति हो । कठोर निर्जला व्रत बसेर पनि मुहारमा कुनै शिथिलता थिएन, बरु आँखामा अनन्त आस्थाको तेज, ओठमा हर–हर महादेवको मन्द मुस्कान र पाउहरूमा तीजको मौलिक लयमा छमछमी नाच्ने बेजोड ऊर्जा थियो ।
पशुपतिनाथको मुख्य स्वर्णद्वारादेखि हंस मण्डप, बागमतीका घाटहरू, वन काली र कैलाश डाँडासम्म फैलिएको यो रातो ताँतीले नेपाली नारीको धैर्य, निष्ठा र सांस्कृतिक गरिमालाई विश्वसामु पुनः एक पटक गौरवमय ढङ्गले उजागर गरिदिएको छ । बिहान सबेरै ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएका थिए । मन्दिरको मुख्य प्रवेशद्वारलाई सयपत्री, मखमली र गुलाफका ताजा पुष्प गुच्छाहरूले स्वर्गको अमरावती झैँ सजाइएको थियो । सुनौलो तोरण र गजुरमा बिहानीको पहिलो किरण पर्दा मन्दिर अलौकिक ज्योतिले धपधपी बलिरहेको थियो ।
भक्तजनहरूको लाम जय वागेश्वरी, गौशाला, तिल गङ्गा र वन काली हुँदै चारैतिरबाट सर्पिलाकार रूपमा पशुपतिको गर्भ गृहतर्फ बढिरहेको थियो । घण्टौँसम्म पालो पर्खँदा पनि कसैको मुहारमा थकानको लेशसम्म थिएन । हातमा पूजाका थाली–जसमा दियो, अगरबत्ती, बेलपत्र, धतुरो, श्रीखण्ड चन्दन र रातो अक्षता सजिएका थिए–बोकेर व्रतालुहरू निरन्तर ‘ॐ नमः शिवाय’ को मन्त्र जपिरहेका थिए ।
माथि आकाशे पुलबाट हेर्दा देखिने दृश्य कुनै महाकाव्यको दृश्यभन्दा कम थिएन । मानौँ बागमतीको किनारमा आस्थाको रातो नदी बगिरहेको छ, जसको प्रत्येक तरङ्गमा शिवप्रतिको अनन्य भक्ति समाहित छ ।
पशुपति परिसरमा पाइला टेक्नासाथ नाकमा घिउमा बलेका दियोहरूको सुवास, अगरबत्तीको मीठो धुवाँ र कपूरको सुगन्ध ठोक्किन आउँथ्यो । चारैतिर बजिरहेका ठुला पित्तलका घण्टाहरू र शङ्खको गम्भीर ध्वनिले वातावरणलाई पूर्ण रूपमा ध्यानमग्न र दिव्य बनाएको थियो ।
परिसरका विभिन्न शिवलिंगहरूमा महिलाहरूले कञ्चन जल, गाईको काँचो दूध र पञ्चामृतको धारा बगाइरहेका थिए । शिवलाई प्रिय लाग्ने बेलपत्र र धतुरोको फूल चढाउँदै उनीहरूले आफ्ना पतिका लागि सुस्वास्थ्य, सन्तानका लागि उज्ज्वल भविष्य र समस्त परिवारका लागि सुख–शान्तिको वरदान मागिरहेका थिए । माटोका पालाहरूमा दनदनी बलेको ज्योतिलाई दुवै हातले समेटेर आफ्नो शीर र आँखामा छुवाउँदा महिलाहरूका मुहारमा जुन आत्मसन्तुष्टि झल्किन्थ्यो, त्यो कुनै पनि सांसारिक सुखभन्दा माथि थियो । दीपको ज्योति जस्तै आफ्नो जीवन पनि उज्यालो रहोस् भन्ने यो प्रार्थना साँचो अर्थमा मन छुने थियो।दर्शन सकेर बाहिर निस्किएका व्रतालुहरू मन्दिरको खुला चौर, वन कालीको हरियाली र हंस मण्डपमा समूह–समूह बनाएर नाचिरहेका थिए ।
परम्परागत मादलको घिन्ताङ घिन्ताङ ताल, तालीको एकतमासको आवाज र गला खोलेर गाइएका तीजका मौलिक भाकाहरूले पशुपति गुञ्जायमान थियो ।
यहाँ कुनै धनी र गरिबको भेद थिएन । रेशमी बनारसी सारी लगाएकी महिला र सामान्य सुतीको रातो पहिरनमा सजिएकी दिदी एकै तालमा हात समातेर कम्मर मर्काइरहेका थिए । कपालमा रातो गुलाफ र हरियो दुबो सिउरेर, कालो चस्मा लगाएर आधुनिक शैलीमा फन्को मार्ने नवयुवतीहरूदेखि लिएर, लाठी टेकेर आएका असी वर्षका आमाहरू समेत हात फैलाएर शिव ताण्डवको भावमा नाचिरहेका देखिन्थे । यो दृश्यले प्रमाणित गर्थ्यो कि तीज उमेरको बन्धनभन्दा धेरै माथि छ । तीजको दिन पशुपतिमा खिचिएका प्रत्येक तस्बिरले एउटा बेग्लै कथा भन्छन् । कतै साथीहरूसँग काउकुती लगाउँदै सेल्फी खिचिरहेका चञ्चल युवतीहरू, कतै निधारको रातो चन्दन र बेलपत्रको टीका देखाउँदै मुस्कुराइरहेका विवाहितहरू, त कतै हात जोडेर मौन ध्यानमा डुबेका किशोरीहरू । विशेष आकर्षण थियो–तीन पुस्ताको एकसाथ उपस्थिति ।
हजुरआमा, आमा र नातिनी एउटै रङ्गको पहिरनमा सजिएर हातमा पूजाको थाली लिई मन्दिरको ढुङ्गे सिँढीमा बसिरहेका थिए । हजुरआमाको मुहारमा वर्षौँदेखिको संस्कारको गाम्भीर्य थियो भने नातिनीको आँखामा नयाँ उमङ्ग । यो दृश्यले हाम्रो संस्कृति पुस्तान्तरण हुँदै कति दृढतापूर्वक अगाडि बढिरहेको छ भन्ने प्रस्ट पार्थ्यो ।
लाखौँको सङ्ख्यामा उर्लिएको यो जनसागरलाई सुरक्षित र मर्यादित बनाउन पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त परिचालन प्रशंसनीय छ । मेला क्षेत्रमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न बागमती नदीमा आपत्कालीन उद्धारका लागि लाइफ ज्याकेटसहितका रबर बोटहरू तैनाथ गरिएका छन् । निर्जला व्रत बसेका कारण कतिपय महिलाहरू लामो लाइनमा रिङटा लागेर ढल्ने जोखिमलाई मध्यनजर गर्दै ठाउँ–ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाली सेना र नेपाल रेडक्रसका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले तत्काल रक्तचाप जाँच्ने, प्राथमिक उपचार दिने र आराम गराउने कार्य निरन्तर गरिरहेका छन् ।
त्यसै गरी, देश–विदेशमा रहेका लाखौँ दर्शकहरूमाझ पशुपतिको प्रत्यक्ष माहौल पु¥याउन सञ्चारकर्मीहरू रातो पहिरनमै सजिएर हातमा क्यामेरा र बुम–माइक समातेर खटिएका छन् । महिला पत्रकारहरूले एकातिर आफ्नो सांस्कृतिक पहिचान झल्काएका थिए भने अर्कातिर व्यावसायिक कर्तव्यलाई निष्ठापूर्वक पूरा गरिरहेका छन् । घण्टी र मन्त्रोच्चारणको प्रतिध्वनिले सिङ्गो पाशुपत क्षेत्रलाई अलौकिक आभा मण्डलमा बेरिदिएको छ । तीज केवल एउटा पर्व वा व्रत मात्र होइन, यो त नेपाली समाजको जीवन्त धुकधुकी हो। यसले नारीहरूको सङ्घर्षलाई सम्मान गर्छ, परिवारलाई प्रेमको डोरीमा बाँध्छ, र हाम्रो प्राचीन सनातन सभ्यतालाई आधुनिकताको आँधीमा पनि अडिग राख्छ ।
पशुपतिनाथको प्राङ्गणमा उर्लिएको यो आस्था, उमङ्ग र रातो रङ्गको उत्सवले हामीलाई सन्देश दिएको छ–हाम्रो संस्कृति अमर छ, हाम्रो विश्वास अटल छ र नारी शक्तिको यो महिमा अनन्त कालसम्म यसै गरी चम्किरहनेछ । हर–हर महादेव, जय पशुपतिनाथ । –न्युज एजेन्सी नेपाल
















































