सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘देश दुखिरहेका बेला क्रिकेटमार्फत भए पनि खुसी दिन पाउँदा गर्व लागेको छ’– सन्दीप


  • माउन्टेन खबर
  • सोमवार, भदौ २९, २०८३
  • 37
    SHARES

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक दिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुसी ल्याउन सकेकोमा गर्व लागेको बताउनुभएको छ ।

 

 

एसी सी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किनुभएका उहाँले टोलीको सफलताका पछाडि खेलाडी मात्र नभई समर्थक र पर्दापछाडिका सबैको योगदान रहेको बताउनुभएको हो । शनिवार संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपालले एसी सी प्रिमियर कपको उपाधि जित्नुका साथै दोस्रो पटक एसिया कपमा स्थान पक्का गरेको थियो । यसअघि नेपाल सन् २०२३ मा पहिलो पटक एसिया कपमा छनोट भएको थियो । स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै कप्तान लामिछानेले पछिल्लो सफलतालाई नेपाली क्रिकेट सही दिशामा अघि बढिरहेको बताउनु भयो ।

लामिछानेले भन्नुभयो, ‘देश दुखिरहेको बेला क्रिकेटको माध्यमबाट भए पनि खुसी दिन सकिएको छ । त्योभन्दा पनि नेपाल दुखिरहेको बेला सबैले एक–अर्कालाई साथ दिइरहनुभएको थियो, त्यो निकै प्रशंसनीय थियो ।’


ओमानविरुद्धको सेमिफाइनलमा नेपाल १४७ रनमै अलआउट भएपछि पनि टोलीले आत्मविश्वास नगुमाएको लामिछानेले बताउनु भयो । उहाँले उक्त खेलमा आफ्नो आधारभुत क्षमतामा केन्द्रित हुँदै अन्तिम खेल जसरी खेल्ने रणनीति बनाएको बताउनु भयो । नेपालले ओमानलाई केवल ६० रनमा अपआउट गर्दै सेमिफाइनलमा शानदार जित निकालेको थियो । लाछिमानेकाअनुसार खेलाडीहरूले ‘आफ्नो देशका लागि वा जीवनकै अन्तिम खेल खेले जसरी’ मैदानमा उत्रिने र प्रत्येक बलमा शतप्रतिशत प्रयास गर्ने योजना बनाएका थिए । बलिङपछि ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले टोलीलाई सम्हालेर अघि बढाएको प्रदर्शन पनि उहाँले प्रशंसनीय रहेको बताउनु भयो ।
फाइनलमा नेपालले पहिले ब्याटिङ गर्दै ३१३ रन बनाएको थियो । कप्तान लामिछानेले फाइनलका लागि विकेट राम्रो भएकाले टस जितेर ब्याटिङ रोज्नु सही निर्णय भएको बताउनु भयो । आफिस शेखको शतकसहित नेपाली ब्याटहरूले राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उहाँले बलिङतर्फ पनि टोलीले सुरुवाती विकेट निकाल्न सके खेलमा फर्किन सकिने विश्वास रहेको बताउनु भयो । युएईका राहुल चोपडाले राम्रो ब्याटिङ गरेपछि केही समय दबाब सिर्जना भए पनि खेल अन्तिम ओभरसम्म पुग्न सक्ने आङ्कलन टोलीले गरेको लामिछानेको भनाइ छ ।
कप्तान बनेको पहिलो सिरिजमै नेपाललाई उपाधि दिलाउँदै आफू म्यान अफ द टूर्नामेन्ट बन्न सफल भए पनि लामिछानेले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित ठुलो भएको बताउनु भयो । उहाँले दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, गुल्शन झा, ललित राजवंशी, करण केसी, आफिस शेख, रोहित पौडेललगायत सबै खेलाडीको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म्यान अफ द टूर्नामेन्ट व्यक्तिगत रूपमा खुसी लाग्ने उपलब्धि हो । तर टिमको जितमा योगदान गर्न पाएँ भन्ने कुराले अझ खुसी छु । यसको क्रेडिट सबैलाई जान्छ ।’
लामिछानेले प्रशिक्षक, सहायक प्रशिक्षक, ट्रेनर, फिजियो, टेक्निकल एनालिस्ट, व्यवस्थापक तथा अन्य सहयोगी कर्मचारीलाई पनि टोलीको सफलताको ‘पर्दापछाडिका हिरो’का रूपमा स्मरण गर्नुभयो । प्रिमियर कपको उपाधिपछि नेपाली टोलीको ध्यान अब आगामी प्रतियोगितातर्फ केन्द्रित हुने लामिछानेले बताउनु भयो । केही दिन आराम गरेपछि एशियन गेम्स र त्यसपछि एसिया कपका लागि तयारी शुरु गरिने उहाँले जानकारी दिनुभयो । नेपालले पछिल्लो सफलतासँगै एसिया कपमा दोस्रो पटक स्थान बनाएको छ । सन् २०२३ मा पहिलो पटक एसिया कप खेलेको नेपालले यस पटक पनि एसियाली क्रिकेटका ठुला टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)