काठमाडौं – वागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता र स्थानीय अर्थतन्त्र विकासको महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।
आईतवार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रलाई राष्ट्रिय समृद्धि र वातावरणीय दिगोपनासँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।
सचिव सुवेदीले नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, पहाड, नदी, वनजङ्गल, जैविक विविधता तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचारप्रसारमा जोड दिनुभयो । उहाँले नेपालको मौलिक संस्कृति र विविधतालाई पर्यटन विकासको महत्वपूर्ण आधार भएको भन्दै यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनु भयो ।
नेपालको शान्ति, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधता विश्वका पर्यटकका लागि आकर्षणको केन्द्र रहेको उल्लेख गर्दै उहाँले यी सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनु भयो । विश्वका १४ अग्ला हिमालमध्ये आठवटा नेपालमै हुनु तथा विभिन्न जातजाति र भाषाभाषीको विविधताले नेपालको पर्यटनलाई विशिष्ट बनाएको उहाँको भनाइ छ । सचिव सुवेदीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले सन् २०२५ देखि २०४० सम्मको लागि रणनीति बनाएर काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पर्यटन केवल घुमफिरको विषय मात्र होइन । पर्यटन क्षेत्र मुलुकको आर्थिक र रोजगारीसँग जोडिएको छ, हाम्रो उद्यमशीलतासँग जोडिएको छ, हाम्रो स्थानीय अर्थतन्त्रलाई समृद्ध बनाउने कुरासँग जोडिएको छ । र हाम्रो संस्कृति, त्यसका संरक्षणका लागि पनि हामी हाम्रो पर्यटनलाई जोड्ने गर्छौँ ।
त्यसैले हाम्रो पर्यटन भनेको हाम्रो राष्ट्रिय समृद्धिको एउटा महत्वपूर्ण आधार हो । हाम्रो वातावरणीय दिगोपनाको एउटा दृष्टिकोण हो पनि हो । त्यसकारण हामीले पर्यटन क्षेत्रको विकासका लागि लागिपरेका छौँ । यसका लागि हाम्रो सुन्दर हिमाल, हाम्रो पहाड, हाम्रो नदी, वनजङ्गल, हाम्रो जैविक विविधता, हाम्रा ऐतिहासिक सम्पदाहरू हाम्राको रक्षा र प्रचारप्रसार गर्नुपर्ने आवश्यकता छ । यसलाई जोगाइराख्नु हामी सबैको कर्तव्य हो ।
विश्वलाई शान्तिको मार्गमा हिँड्न बाध्य बनाउने बुद्ध जन्मिएको देश, विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ वटा उच्च हिमशिखरमध्ये ८ वटा हिमाल हामीसँगै छ, हाम्रो काखमा छ । हामीसँग १ सय ४२ वटा जातजाती र १२४ वटा भाषाभाषीहरु छन् । विविध सांस्कृतिक मौलिकताले भरिपूर्ण भएको हाम्रो देश, यही हेर्नका लागि विश्वका धेरै मान्छेहरू नेपाल आउने गर्छन् । अहिले पनि हामी वेलनेस इयर मनाउँदै छौँँ । सङ्घीय सरकारले घोषणा गरेको वेलनेस इयर अबको आउँदो २०२७, हामी त्यो भनिरहेका छौँ ।
यो आर्थिक वर्षलाई त्यसैगरी अगाडि बढाउने भनेर भनिरहेका छौँ । तर हामीलाई यस्ता घटन(परिघटनाहरूले हामीले चाहेको हाम्रो लक्ष्यमा हामी पुग्न सक्दैनौँ, यो हाम्रो चुनौती हो । यद्धपी हामीले पर्यटन क्षेत्रको विकासको लागि सन् २०२५ देखि २०४० सम्मको रणनीति बनाएका छौँ । सोहीअनुसार अघि बढिरहेका छौँ ।’
वागमती प्रदेश सरकारले सन् २०२७ लाई ‘वेलनेस इयर’ का रूपमा मनाउने गरी तयारी गरिरहेको पनि उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल
