काठमाडौँ – होटल सङ्घ नेपाल (हान) बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले भोटेकोसी बाढीपछि नेपालको पर्यटन क्षेत्रका बारेमा अन्तर्राष्ट्रिय स्तरमा गएको नकारात्मक सन्देशलाई चिर्न सरकार, निजी क्षेत्र तथा पर्यटनसँग सम्बन्धित सबै पक्षबिच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ।
४७औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बकेले प्राकृतिक विपद्का कारण नेपालको पर्यटन क्षेत्र असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा जान सक्ने भएकाले त्यसलाई तथ्यपूर्ण सूचना र प्रभावकारी प्रचारप्रसारमार्फत चिर्नुपर्ने बताउनुभयो। उहाँले नेपालका अधिकांश पर्यटकीय गन्तव्यहरू सुरक्षित रहेको वास्तविकता अन्तर्राष्ट्रिय पर्यटक तथा पर्यटन बजारसम्म पुर्याउन सरकार र निजी क्षेत्रले संयुक्त रूपमा पहल गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँका अनुसार प्राकृतिक विपद् नेपालका लागि नयाँ विषय होइन। भूकम्प, बाढी, पहिरो, हिम पहिरो तथा अन्य प्राकृतिक जोखिमका घटना समय–समयमा हुने गरे पनि त्यसका कारण समग्र नेपालको पर्यटन क्षेत्रलाई नै असुरक्षित देखाउने अवस्था सिर्जना हुन नदिन सम्बन्धित निकाय सचेत हुन आवश्यक छ। विपद्का कारण प्रभावित भएका निश्चित क्षेत्रको अवस्थालाई समग्र मुलुकको पर्यटन अवस्थासँग जोडेर हेर्दा अन्तर्राष्ट्रिय पर्यटकमा गलत धारणा बन्न सक्ने भएकाले सूचना सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
अध्यक्ष बकेले नेपालको पर्यटन क्षेत्रलाई पुनः गतिशील बनाउन प्रभावकारी अन्तर्राष्ट्रिय प्रचारप्रसारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। नेपालका हिमाल, पहाड, प्राकृतिक सम्पदा, धार्मिक तथा सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र मौलिक जीवनशैली पर्यटकका लागि प्रमुख आकर्षण भएको उल्लेख गर्दै उहाँले यी सम्भावनालाई विश्व बजारमा नयाँ ढङ्गले प्रस्तुत गर्नुपर्ने बताउनुभयो।
उहाँले पर्यटन क्षेत्रको मेरुदण्डका रूपमा रहेको होटल व्यवसायलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने मागसमेत गर्नुभयो। पर्यटन क्षेत्रमा पर्यटकको आगमन बढ्दा त्यसको प्रत्यक्ष लाभ होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवसायसँगै स्थानीय उत्पादन र रोजगारीमा पर्ने भएकाले होटल क्षेत्रलाई केवल एउटा व्यवसायका रूपमा नभई समग्र पर्यटन अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा हेर्नुपर्ने उहाँको भनाइ छ।
अध्यक्ष बकेले होटल व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा सेवाको सहज उपलब्धता सुनिश्चित गर्न तीनै तहका सरकारबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। सडक तथा यातायात, खानेपानी, विद्युत्, सुरक्षा, सरसफाइ, पर्यटन प्रवर्द्धन, व्यवसाय दर्ता, कर प्रणाली तथा वातावरणीय व्यवस्थापनजस्ता विषय संघ, प्रदेश र स्थानीय तहसँग प्रत्यक्ष जोडिएकाले व्यवसायीले विभिन्न निकायमा दोहोरो प्रक्रिया पूरा गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो।
“पर्यटन विकासका लागि तीनै तहका सरकारबिच स्पष्ट कार्य विभाजन र प्रभावकारी समन्वय आवश्यक छ। एउटै विषयमा फरक–फरक तहबाट दोहोरो नीति र प्रक्रिया लागू हुँदा व्यवसायीलाई समस्या हुने गरेको छ। यस्तो जटिलता घटाउँदै पर्यटन व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्छ,” उहाँको भनाइ थियो।
उहाँले पर्यटन व्यवसायीले लगानी गरेपछि त्यसको प्रतिफलका लागि लामो समयसम्म पर्खनुपर्ने भएकाले राज्यले पर्यटन व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड दिनुभयो। विपद्, आर्थिक मन्दी, पर्यटक आगमनमा कमी तथा अन्य असहज परिस्थितिका समयमा व्यवसायलाई टिकाइराख्न कर, ऋण, ब्याज तथा अन्य क्षेत्रमा सहुलियत दिने व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो।
अध्यक्ष बकेले होटल तथा पर्यटन क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति आवश्यक रहेको बताउँदै पर्यटन व्यवसायमा पूर्वाधार निर्माणसँगै सेवा गुणस्तर सुधारमा समेत ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। पर्यटकलाई नेपालमा ल्याउने मात्र नभई उनीहरूको बसाइ अवधि लम्ब्याउने र खर्च गर्ने वातावरण बनाउन सके पर्यटनबाट मुलुकले थप आर्थिक लाभ लिन सक्ने उहाँको भनाइ छ।
उहाँले स्थानीय तहले आफ्ना क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार विकास र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। स्थानीय उत्पादन, कला, संस्कृति, परम्परा र खानालाई पर्यटनसँग जोड्न सके स्थानीय समुदायले प्रत्यक्ष लाभ प्राप्त गर्ने र पर्यटन विकास दिगो बन्ने उहाँको धारणा छ।
नेपालको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै बकेले सरकार र व्यवसायीबिच नियमित संवादको आवश्यकता औँल्याउनुभयो। पर्यटन क्षेत्रका समस्या पहिचान गरी तत्काल समाधान गर्न सरकारी निकाय र निजी क्षेत्रबिच स्थायी संवाद तथा समन्वयको संयन्त्र विकास गर्नुपर्ने उहाँले बताउनुभयो।
यसैबिच, ४७औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। हरेक वर्ष सेप्टेम्बर २७ का दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ। पर्यटनको महत्त्व, रोजगारी सिर्जना, आर्थिक विकास, सांस्कृतिक आदानप्रदान तथा दिगो पर्यटन प्रवर्द्धनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिन्छ।
नेपालका लागि पर्यटन विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्त्वपूर्ण क्षेत्रका रूपमा रहँदै आएको छ। प्राकृतिक तथा सांस्कृतिक विविधताले सम्पन्न नेपालमा पर्यटनको सम्भावना उच्च भए पनि पूर्वाधार, प्रचारप्रसार, सेवा गुणस्तर, यातायात, नीतिगत स्थिरता तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा अझै सुधार आवश्यक रहेको पर्यटन व्यवसायीहरूले बताउँदै आएका छन्।
भोटेकोसी बाढीपछि उत्पन्न चुनौतीलाई अवसरमा बदल्दै नेपालको पर्यटन क्षेत्रलाई थप सुरक्षित, व्यवस्थित र विश्वसनीय गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, स्थानीय समुदाय तथा पर्यटनसँग सम्बन्धित सबै पक्षबिच सहकार्य आवश्यक रहेको अध्यक्ष बकेले दोहोर्याउनुभयो।
रामसुन्दर बके पर्यटन व्यवसायीसमेत हुनुहुन्छ। उहाँ काठमाडौँको रानीकोटमा रहेको भिलेज हाईल्याण्ड रिसोर्टका सञ्चालकसमेत हुनुहुन्छ। पर्यटन तथा होटल व्यवसायमा लामो समयदेखि सक्रिय बकेले निजी क्षेत्रको अनुभवका आधारमा पर्यटन व्यवसायको प्रवर्द्धन, पूर्वाधार विकास र व्यवसायीका समस्या समाधानका विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ।
