काठमाडौँ – नेपाली काँग्रेसले हालै सम्पन्न पार्टीको १५ औँ महाधिवेशनको सन्देश जनतासम्म पु¥याउन तथा पार्टी संगठन सुदृढ गर्न मंसिर महिनाभरि ‘काँग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
बिहीवार पार्टी मुख्यालयमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले यस्तो घोषणा गर्नुभएको हो । उहाँले महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्णयहरू समुदायस्तरसम्म पु¥याउन अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो । उहाँले विगतको समीक्षा र आलोचनाको चरण पूरा भएकाले अब पार्टीले मुलुकसामु देखा परेका समस्या हल गर्ने जिम्मेवारी निर्वाह गर्न केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाँले कांग्रेस प्रतिपक्षीको भुमिका र स्थानीय तहको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताउँदै उहाँले ती जिम्मेवारीबारे आम नागरिकलाई जानकारी गराउन समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । सभापति थापाले आगामी तिहार र छठ पर्वका अवसरमा पार्टीका कमिटीले आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रमलाई समुदायसँग जोड्न पनि निर्देशन दिनुभयो । उहाँले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई टोलटोलमा तथा वडा वडामा पुगेर समेत लम्बेतान सम्मान कार्यक्रम आयोजना नगर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले महाधिवेशनबाट पारित गरेका कुराहरुलाई मंसिर महिनाको एक महिनाको समयमा दस्तावेजीकरण गर्ने कुरा त भइहाल्यो । यसलाई समुदायसम्म पुर्याउनको लागि ‘काँग्रेस तयार छ’ भनेर अभियान चलाउनुपर्ने छ । हामी नेपालका आजका समस्याहरु समाधान गर्नको लागि तयार छौँ, हामी यो महाधिवेशनबाट सबै कुराको तयारी गरेर आएका छौँ । हामीले विगतको समीक्षा गर्यौँ, कतिपय कुराहरुमा आलोचना पनि गर्यौँ । त्यो सबै चरणहरु अब सकिएको छ । अब हामीले अगाडि बढ्ने हो । आजको जिम्मेवारी उठाउन तयारी छौँ, हामी प्रतिपक्षीको जिम्मेवारी उठाउन तयार छौँ । हामी स्थानीय तहको जिम्मेवारी समेत ठिक ढंगले वहन गर्न तयार छौँ । यो हामीले उठाएको जिम्मेवारी आम नागरिकका बीचमा लिएर जानुपर्छ । त्यसकारण मंसिर महिनाभरी हामी तयार छौँ भन्ने विशेष अभियान सञ्चालन गर्छौँ । अभियानका बाँकी रहेका कामहरु पार्टी कार्यालयले पछि तयार गर्छ । अर्को कुरा, अब लगत्ते तिहार, छठ आउँदैछ । हामी अहिले विशेष अवस्थामा छौँ । यत्रो ठूलो विपद् गएको छ । हामीले कोषमा भएको पैसा समेत सदुपयोग गर्नुपर्नेछ । यहाँ हामीले सम्मान गर्यौँ, जिम्मेवारी लियौँ । अब यहाँबाट गएर टोलमा सम्मान, वडामा सम्मान लिने काम बन्द गरौँ । अनि पार्टीको कुनैपनि कमिटीले शुभकामना आदानप्रदानको कार्यक्र आयोजना गर्छ भने त्यो कार्यक्रम समुदायसँग जोडिनुपर्छ ।’
उहाँले चाडपर्वलाई रमाइलोको रुपमा मात्र नभई सामुदायिक तथा सार्वजनिक काममा समर्पण गर्न समेत उहाँको निर्देशन छ । –न्युज एजेन्सी नेपाल
