रसुवा, २० फागुन ।
रसुवाको नौकुण्ड गाउँपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको सम्भाव्यता अध्ययन गरि पुर्वाधार विकासको काम सुरु भएको छ । गाउँपालिकामा रहेका सम्भावित धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पुर्वाधार विकासका लागि डिपिआर गर्न सुरु भएको हो ।
गाउँपालिकाले चालु आर्थिक बर्षको हिउँदे गाउँसभामा बिगत लामो समयदेखि जिर्ण अवस्थामा रहेका पुरातात्विक गुम्बा तथा मठ मन्दिरहरु र धार्मिक क्षेत्रहरुको अध्ययन गरि प्रक्रिया सुरु गरेको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बूसाङ्बो घलेले बताए ।
त्यसका लागि गाउँपालिकाको लार्चाङ्टार शान्ति स्तुपा निर्माणको डिपिआरको लागि ४ लाख बजेट बिनियोजन गरेको छ । त्यसैगरी सिप्पा युङ्पा (जुरेढुङ्गा) बिझिली जोङ (बिजुली ढुङ्गा) डिपिआरको लागि ४ लाख रुपैयाँ र २०७२ सालको महाभुकम्पले जिर्ण अवस्थामा रहेको गुरुफु गुम्बा डिपिआरको लागि ३ लाख ५० हजार रुपैयाँ रकम बिनियोजन गरेको छ ।
त्यसैगरि, गाउँपालिकाको अन्य स्थानहरु या पनि पहिचान गरि क्रमिक रुपमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा गतिबिधि गरिदै जाने गाउँपालिकाका अध्यक्ष घलेले बताए । ‘हाम्रो गाउँपालिकामा पहिला सडक संजाललाई जोडन आवश्यक थियो, सबै वडाहरुमा सडक पुगिसकेको छ, त्यसैले अब हाम्रो योजना शिक्षा क्षेत्रको विकास, परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गरि व्यावसायिक रुपमा गर्न अभिप्रेरित गर्ने र पर्यटन क्षेत्रलाई प्रवर्द्धन र विकास गर्दै जाने योजना छ, उनले भने, ।

