१४ मार्च, २०२१ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाले सरस्वती पूजा तथा नवनिर्वाचित कार्यसमितिको सपथग्रहणको कार्यक्रम सम्पन्न गरेको छ । जूम अनलाइन मार्फत आयोजना गरिएको कार्यक्रममा श्रीपंचमी र मार्च ८ को अन्तर्राष्ट्रिय नारी दिवसलाई सम्बोधन गर्दै त्यस बिषयमा रचियका रचनाहरु पाठ गरिएका थिए ।
कार्यक्रमका सहभागीहरुको स्वागत च्याप्टरका नवनिर्वाचित अध्यक्ष राजु सिटौलाले गर्नुभएको भने च्याप्टरकी निवर्तमान अध्यक्ष तथा अनेसास केन्द्रीय सदस्य तारा अधिकारीले सरस्वती वन्दना प्रस्तुत गर्नुभएको थियो । अनेसास, कोलोराडो च्याप्टरको विधान संशोधन गर्न गठित विधान संशोधन समितिका सदस्यहरु तथा नवनिर्वाचित कार्यसमितिको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने निर्वाचन समितिको सदस्यहरुलाई च्याप्टरकी निवर्तमान अध्यक्ष तारा अधिकारीले कदर-पत्र र प्रशंसापत्र प्रदान गर्नुभएको थियो । यसै गरी निर्वाचन समितिका संयोजक नवीन दत्तले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सपथग्रहण गराउनुको साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टिजका उपाध्यक्ष पदम विश्वकर्मा तथा अनेसास केन्द्रका क्षेत्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो आफ्नो रचना वाचन गर्नुको साथै निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनुभएको थियो । यसै गरी समाजसेवी रमेश गुरुङले अनेसास, कोलोराडो शाखालाई सहयोग स्वरुप १५०० अमेरिकन डलर प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा गिरिश शर्माले बसन्त पंचमीको महत्व सम्बन्धमा प्रकाश पार्नुको साथै सरस्वती वन्दना प्रस्तुत गर्नुभएको थियो । यसै गरी विजया ढकालले कृष्ण भजन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा रचना वाचन गर्नेहरुमा समिर आचार्य, प्रभा आचार्य, वासुदेव खनाल, सम्झना आचार्य, माधव शिवाकोटी, प्रमोद अमात्य, निर्मला अर्याल, रमेश गुरुङ, तारा अधिकारी, प्रमिला शर्मा, डा. विजयराज शर्मा, मिना पौडेल हुनुहुन्थ्यो ।
कार्यक्रमको समापन सभाको सभापति अनेसास, कोलोराडो च्याप्टरकी निवर्तमान अध्यक्ष तारा अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको उद्घोषण नवनिर्वाचित महासचिव किरण अधिकारीले गर्नुभएको थियो ।
