मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खोप खरिदका लागि विश्व बैङ्कले नेपाललाई ७.५ करोड अमेरिकी डलर सहयोग गर्ने


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ६, २०७७
  • 1.1K
    SHARES

६ चैत्र, काठमाडौं । कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो ।

नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरुद्धका खोपहरुको समतामुलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आइडा)मार्फत नेपालले उक्त ऋण सहायता प्राप्त गर्ने भएको छ । यो वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाई जनसंख्यामा खोप पुर्‍याउन सक्ने विश्व बैंकले जनाएको छ ।

कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वकांक्षी योजनालाई सघाउन विश्व बैंकले यो सहायता प्रदान गर्न लागेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन् ।

विश्व बैंकले गत चैतमा २.९ करोड अमेरिकी डलर (३ अर्ब ३० करोड रुपैयाँ) बराबरको कोभिड १९ आपतकालिन प्रतिकार्य र स्वास्थ्य तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड १९ प्रतिकार्यमा विकास साझेेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर थप वित्त सहयोग गर्ने निर्णय भएको बैंकको भनाई छ ।

यो रकमको ९० प्रतिशत हिस्सा कोभिड १९ कोख खरीद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेक अन्य समूहमा खोप बिस्तार गर्न प्रयोग हुने भएको छ । बाँकी रकम भने खोपका पहललाई सघाउन र कोभिड-१९ सँग सम्बन्धित परीक्षण, उपकरण र चिकित्सासामग्री खरीद तथा आपूर्तिमा खर्च गरिने भएको छ ।

विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एयियाका लागि अभ्यास प्रवन्ध गेल रिचर्डसनले यो सहयोग नेपाली जनताका लागि शारीरिक र नेपाल राष्ट्रको आर्थिक स्वास्थ्यको रक्षा गर्न महत्वपूर्ण सावित हुने बताएका छन् ।

विश्व बैंककाअनुसार नेपालका लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रमा कोभिड १९ खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजना मध्ये एक हो ।

विश्व बैंकले नेपालबाहेक बंगलादेशमा ५० करोड अमेरिकी डलर र अफगानिस्तानमा ६ करोड अमेरिकी डलर बराबरको सहायता समेत घोषणा गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)