१० चैत्र, काठमाडौं । ट्वीटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्वीट २९ लाख अमेरिकी डलर बराबरको मूल्यमा बिक्री भएको छ ।
मलेसियाका एक व्यवसायीले डोर्सीले सन् २००६ को मार्च २१ मा गरेको ट्वीट बोल बढाबढको आधारमा किनेका हुन् ।
सो ट्वीटमा डोर्सीले ‘जस्ट सेटिङ्ग अफ माइ ट्वीटर (टिधब्लुटिटिआर)’ लेखेका थिए ।
मलेसियाका व्यवसायी सिना एस्तावीले सो ट्वीटलाई मोनालिसाको पेन्टिङ्गसँग तुलना गरेका छन् ।
ट्वीट बिटकोइनको प्रतिस्पर्धी क्रिप्टोकरेन्सी प्रयोग गरेर किनिएको हो । डोर्सीको ट्वीट सोमबार ‘ननफङ्गिबल टोकन’ (एनएफटी) का रुपमा बेचिएको हो ।
एनएफटी विशेष प्रकारको डिजिटल सर्टिफिकेट हो जसमार्फत कुनै फोटो, भिडियो वा अरु प्रकारका अनलाइन सामग्रीको स्वामित्व बिक्री हुन्छ ।
डोर्सीले सेवामुलक प्रयोजनका लागि आफ्नो पहिलो ट्वीट बिक्री गरेका हुन् ।
