काठमाडौं । नेपाली सेनाले सातै प्रदेशमा ७ हजार २३४ ओटा बेडसहितका क्वारेन्टाइन निर्माण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड१९) को संकमण बढ्न सक्ने जोखिमका कारण सेनाले पूर्वतयारी स्वरुप क्वारेन्टाइन निर्माण गरेको जनाएको छ ।
बिहीबारसम्म निर्माण गरिएका मध्ये १ हजार १० जनालाई क्वारेन्टाइनमा राखिसकिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । त्यस्तै, सेनाले दुई खालका आइसोलेसन वार्ड निर्माण गरेको छ । खासगरी साधारण बेडसहितका १९०२ र आर्इसीयू बेडसहितका १९२ गरि २०९४ ओटा वार्ड निर्माण गरिएको पाण्डेले बताए ।
ती आईसोलेसनमा ४६ जनालाइ राखिसकिएको छ । त्यस्तै, सेनाका २०६ जना स्वास्थ्यकर्मी खटिएका छन । संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा नेपाली सेनाले देशभर क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गरिरहेको छ ।
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले १९८ देशमा पुगेको छ । नेपालमा हालसम्म ३ जनामा कोरोना भाइस संक्रमित भेटिएका छन् । एकजना उपचारपछि घर फर्किसकेका छन ।