काठमाडौं, २० भदौ
भारतविरुद्धको आजको खेलसँगै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउनुभएको छ ।
सन् २००८ मा नेपाली राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएका उहाँले पहिलो खेल कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध खेल्नु भएको थियो । उचाइ ६ फिट २ इन्च भएका उहाँ १८ वर्षको उमेरमा नै राष्ट्रिय टोलीमा डेब्यू गर्नुभएको थियो । भारतविरुद्धको आजको खेलसँगै राष्ट्रिय टोलीबाट चेम्जोङले खेलेको खेलको सङ्ख्या ७४ पुगेको छ ।
यसअघि विराज महर्जनको नाममा राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेलेको कीर्तिमान थियो । महर्जनले ७३ खेल खेल्दै खेलबाट सन्यास लिनुभएको थियो । बिहीबार भारतविरुद्धको पहिलो खेल खेल्दै चेम्जोङले महर्जनसित बराबरी गर्नुभएको थियो । उहाँले सन् २०१८ यता नेपाली टोलीको कप्तानी गर्दै आउनुभएको छ । उहाँको नेतृत्वमा नेपालले एएफसी सोलिडारिटी कप र थ्री नेसन्स कपको उपधि जितिसकेको छ । चेम्जोङ दक्षिण एसियाकै उत्कृष्ट गोलकिपरका रूपमा चिनिनुहुन्छ ।
