काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३०० मिटर कायम गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो ३ हजार मिटर लामो धावनमार्गमा थप ३०० मिटर विस्तार गरिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गत हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले बताएको छ । आयोजनाका अनुसार धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टु विस्तारको काम सम्पन्न भएको छ ।
विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता हुनुका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पूरा हुने आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको यो चौथोपटकको धावनमार्ग विस्तार गरिएको हो । यसअघि विमानस्थलको शुरूमा ६ हजार, दोस्रोपटक ८ हजार र तेस्रोपटक ३ हजार मिटर धावनमार्ग विस्तार भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जम्बो जेट, बोइङ ७४७, एयरबस ए–३३० लगायत जहाज सहजै उडान अवतरण गर्छन् । त्रिभुवन विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।
