मनाङ,१४ असोज
लेक लाग्ने स्थान (हाइ अल्टिच्युड) मा रहेको हुम्दे विमानस्थलमा आज विमान अवतरण गरिएको छ । केही विदेशी पर्यटकले आज यहाँ चार्टर्ड विमान ल्याएपछि सो विमानस्थल चलायमान हुने आशा बढेको छ । बाढीपहिराका कारण सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध भएपछि आज हुम्दे विमानस्थलमा जहाज अवतरण गरेको हो । बिहीबार यहाँ समिट एयरको चार्टर्ड जहाजमा विदेशी पर्यटक पुगेका हुन् ।
बिहीबार बिहान २८ अपाङ्गता भएका व्यक्ति पर्यटक मनाङ आइपुगेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार ती पर्यटकका ४५ नेपाली सहयोगी भने सडक सञ्जालमार्फत मनाङ आउँदै गरेका छन् ।
विश्वको १०औँ नम्बरमा पर्ने ५४१६ मिटर उचाइमा रहेको थोराङ्ला पास गरी मुक्तिनाथ हुँदै अन्नपूर्ण पदमार्गको यात्रा पूरा गर्ने तयारीका साथ चार्टर्डको समिट एयरको जहाजमार्फत उनीहरु मनाङ आइपुगेका हुन् ।
समिट एयरको जहाजले १५ जनाका दरले तीन उडान भर्ने तयारी गरेपछि मौसम अनुकूलताका कारण तेस्रो उडान भर्न नसकेको उक्त विमानस्थलका कर्मचारी विश्व शर्माले जनाकारी दिनुभयो । उहाँका अनुसार फरक क्षमताका ४५ पर्यटक आउने तयारी भएको थियो ।
“इजरायली र भारतीय फरक क्षमता (अपाङ्गता भएका) विद्यार्थी आइपुग्नुभएको छ । उहाँहरु ह्विल चियरको सहयोगमा थोराङ्ला पास गर्नुहुनेछ”, प्रजिअ लामिछानेले भन्नुभयो । “उहाँहरुले सडक सञ्जाल सहज नभएकाले समिट एयरको जहाज चार्टर्ड गरी मनाङ आउनुभएको हो । उहाँहरु चार्टर्ड गरी जहाज आउने भएपछि हाल सञ्चालनमा नरहेको विमानस्थल पनि अब चलायमान बनाएको छ ।” उहाँका अनुसार हुम्दे एयरपोर्टमा झरेका पर्यटक फरक क्षमता भएका हुन् र उनीहरु ह्विलचियरमा नै थोराङ्ला पास गरी मुक्तिनाथ पुग्नेछन् ।
पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा विसंं २०५९ मा सञ्चालनमा आएको एयरपोर्ट सडक सञ्जालसँग जोडिएपछि ठप्प भएको थियो । उक्त एयरपोर्टमा विगतमा ट्वीनअटर जहाजमात्रै चल्ने गरेको थियो तर मनाङ सडक सञ्जालसँग जोडिएपछि एयरपोर्ट अवरुद्ध भएको हो । ट्वीनअटर र पाइलटसमेत पाउन मुस्किल भएपछि एयरपोर्ट बन्द भएको पूर्वमन्त्री गुरुङ बताउनुहुन्छ ।
हुम्दे एयरपोर्ट सञ्चालनका लागि पर्यटन बोर्डसँग समन्वय गरी पटक–पटक पलह गर्ने कोसिस गरे पनि सरकारले ठूला विमान उडाउन नखोजेको उहाँ बताउनुहुन्छ । निजी कम्पनीले पनि मनाङको हुम्दे एयरपोर्टमा उडान भर्न नचाहेको उहाँले बताउनुभयो । हाइअल्टिच्युडका कारण उक्त एयरपोर्टमा उडान भर्न समस्या भएको बताइएको छ ।
ठूला जहाज उडान भर्न भने समस्या भएको प्रजिअ लामिछानेले बताउनुभयो । हाइ अल्टिच्युडका साथै ठूला जहाजले उडान भर्न सकस मान्ने गरेको बोर्डले जनाएको छ । त्यसमाथि सडक सञ्जालसँग जोडिएपछि पर्याप्त मात्रामा यात्रु पाउन मुस्किल भएकाले एयरपोर्ट चलायमान हुन नसकेको स्थानीयवासीको भनाइ छ ।
सडक सञ्जालसँग मनाङ जोडिनु र पर्यटकलाई जहाजभन्दा सडक सञ्जालमार्फत आवतजावतमा कम मूल्य पर्ने भएपछि पनि यहाँ जहाज चलाउन नसकिएको हो । हुम्दे एयरपोर्ट विसं २०५९ मा एयरपोर्ट कालोपत्र भएपछि चल्न नसकेको बताइएको छ । गण्डकी प्रदेश सरकारले विसं २०७६ भदौ २६ मा सफल परीक्षण उडान गरेको थियो ।
बाढीपहिराले सडक सञ्जालमा क्षति पु¥याएर सञ्चालन हुन नसकेको अवस्थामा अब यो विमानस्थललाई निरन्तर गर्न सकिएमा स्थानीयवासीसँगै पर्यटकको आवतजावत र सामग्री ढुवानीमा सहज हुने स्थानीयवासीको भनाइ छ । अहिले पनि यहाँको सडक पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । सडक सञ्जाल अवरुद्ध भएकाले मनाङवासीले सास्ती खेप्नुपरेको छ ।
