रसुवा, २३ असोज ।
तेस्रो अकिआस फुटसल कपको उपाधी गोसाइँकुण्ड बोइज धुन्चेले हात पारेको छ । सोमबारदेखि सदरमुकाम धुन्चेमा संचालन गरिएको जिल्लाकै सर्वाधिक राशिको फुटसल प्रतियोगिताको उपाधी गोसाइँकुण्ड बोइज धुन्चेले हात पारेको हो । त्यसैगरी उत्तरगया युनिक क्लब बेत्रावती दोस्रो भएको छ भने छोलिङ फ्रेन्डशिप ग्रुप धुन्चे तेस्रो भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतियलाई क्रमश १ लाख ३५ हजार, ६५ हजार र ३५ हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको आयोजक शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) का अध्यक्ष निबेश श्रेष्ठले बताए ।
त्यसैगरि, तेस्रो अकिआस फुटसल प्रतियोगिताको सम्पन्न खेलमा उत्कृष्ट खेलाडी गोसाइँकुण्ड बोइज धुन्चे टिमका शेर बहादुर घले बनेका छन भने उत्कृष्ट गोल रक्षक गोसाइँकुण्ड बोइज धुन्चेका किपर पासाङ तामाङ, उच्च गोलकर्ता छोलिङ फ्रेन्डशिप ग्रुपका निमा वाङज्यु तामाङ भएका छन । निमा वाङज्यु तामाङले १८ गोल गरेको बताइएको छ ।
फुटसल खेलको बिकासको उद्देश्यले गत सोमबारदेखि शनिबारसम्म सदरमुकाम धुन्चे स्थित बालमन्दिरमा प्रतियोगिता संचालन गरिएको थियो । यो जिल्ला कै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता रहेको श्रेष्ठले बताए । यसअघि अकिआसले जिल्लामा फुटसलका खेलहरु संचालन गरेका छ ।
खेल प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जनका लागि फुटसल प्रभावकारी हुने भएकाले प्रतियोगिता सञ्चालन गरिएको अकिआसका अध्यक्ष श्रेष्ठले बताए । नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल युवामाझ बढी लोकप्रिय छ । शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ । यो खेलको सुरुवात सन् १९३० मा ब्राजिलबाट सुरु भएको हो ।
