काठमाडौं । अर्थ मन्त्रालयले जेठ २५ गतेभित्र सबै कर भुक्तानी गर्न भनेपछि नेपाल उद्योग वाणिज्य महासंघले म्याद थप गर्न अनुरोध गरेको छ ।
महासंघले मंगलबार मन्त्रालयका राजश्वसचिव रामशरण पुडासैनीलाई पत्राचार गरी आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क तिर्ने समय आगामी असार मसान्तसम्म थप्न अनुरोध गरेको छ ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन) का कारण उद्योग व्यवसाय बन्द भइरहेकाले जेठ २५ गतेसम्म कर तिर्न नसक्ने जिकिर महासंघले गरेको छ । उद्योगी व्यवसायीले कर तिर्नका लागि अप्ठेरो अवस्था रहेको महासंघले जानकारी दिएको छ ।
आगामी आर्थिक वर्षको बजेटले समेत मुलुकको समग्र अर्थतन्त्रले भोगिरहेको कठिन चुनौतिलाई स्वीकार गरिसकेको जानकारी गराउँदै महासंघले कर तिर्ने समय बढाउन माग गरेको हो । यस्तै व्यवसायीको मनोवल उच्च राख्न महासंघले आग्रह गरेको छ ।
सरकारले सूचना प्रकाशित गरी जेठ २५ गतेभित्र सबै कर तिर्न अनुरोध गरेको थियो । निर्धारित समयभित्र कर नबुझाए दण्ड र जरिवाना लाग्ने आन्तरिक राजश्व विभागले जानकारी गराएको थियो ।