आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘पैतालामा हिउँ,आँखामा हिमाल’ विमोचन


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक २७, २०७८
  • 390
    SHARES

 काठमाडौं , २७ कात्तिक

कवि तथा नियात्राकार राजेन्द्रमान डङ्गोलको दोस्रो नियात्राकृति ‘पैतालामा हिउँ,आँखामा हिमाल’को सार्वजनिकीकरण एक बृहत् कार्यक्रमबीच हिजो शनिबार राजधानीमा सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रा•डा• रमेश भट्टराईले कृतिलाई सिर्जनाको सर्वोच्च प्रस्तुति भएको राय व्यक्त गर्नुभएको छ । घरेलु पर्यटनका दृष्टिले यति शक्तिशाली कृति आफूले आजसम्म पढ्न नपाएको उहाँको कथन थियो । पाठकीय अभिप्रेरणा सबैभन्दा शक्तिशाली पक्ष हुने भन्दै उहाँले जसले आफ्नो देशको हिमाल चिन्दैन, उसले आफ्नो राष्ट्र चिन्दैन भन्ने दाबी गर्नुभयो ।

त्यसै गरी नियात्राकार तथा कवि दामोदर पुडासैनी ‘किशोर’ले यात्रा लेखन जीवन लेखन भएको विचार व्यक्त गर्नुभयो। संसारमा सर्वाधिक पढिने कृति नै नियात्रा भएको जिकिर गर्दै प्रस्तुति, भाषाशैली र विषयवस्तुका रूपमा कृति उत्कृष्ट भएको उहाँको भनाइ थियो । विचरणका सिलसिलामा हिमालको कला, संस्कृति र जनजीवन साथै पीडा र दर्दलाई समेत समेट्नुपर्छ डङ्गोलको विशिष्ट क्षमता भएको जिकिर गर्नुभयो।

त्यसरी नै नियात्राकार तथा लघुकथाकार श्रीओम श्रेष्ठ ‘रोदन’ले समयावधिको हिसाबले धेरै पछाडि आउनु पर्ने भए पनि लेखनका दृष्टिले डङ्गोल निकै अगाडि आउने बताउनु भयो। डङ्गोलका नियात्रा आख्यानले भरिएका, काव्यले रङ्गिएका र अनुभूतिले सजिएका छन् भन्न उहाँको अभिमत थियो ।
डङ्गोलका बालसखा राम लोहनीले कृति काव्यात्मक भएको भन्दै इतिहास, भूगोल, कला, संस्कृति,धर्म र जनजीवनका ऊहापोह सबै कृतिमा भेटिने जिकिर गर्नुभयो। सीमित सीमाका बाबजुद कृति दोहोर्याई दोहोर्याई पढ्न मनलाग्ने बनेको उहाँको राय थियो।

रचनागर्भबारे चर्चा गर्दै नियात्राकार राजेन्द्रमान डङ्गोलले आफ्नो पेसाले नै नियात्रा लेखनमा अभिप्रेरणा प्राप्त भएको भन्दै आरएम डङ्गोल,श्रीहरि फुयाँललगायतकाअग्रज साहित्यकारले आफूलाई थप उत्साहित बनाएको बताउनुभयो । त्यसरी नै बोधराज भण्डारी, निलहरि बास्तोला, राजेन्द्र सापकोटाजस्ता पर्यटन व्यवसायीले पुस्तक प्रकाशनमा हौस्याएको भनाइ राख्नुभयो ।

कार्यक्रममा बोधराज भण्डारी, सरिता लामा, सरिता गुरुङ, खुमबहादुर सुवेदी, दीपक महत र बिक्रम पाँडेकाजीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने फिनिक्स पब्लिकेसनका गणेश सुवेदीले प्रकाशकीय मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण कवि लक्ष्मी रूम्बाले गर्नुभएको थियो भने अध्यक्षता त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोलले गर्नुभएको थियो।

May be an image of 9 people, people standing and indoorMay be an image of one or more people, people sitting, people standing and indoor

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)