काठमाडौं । ठूला करदाता कार्यालयले ३ दिनमा ४ अर्ब रुपैयाँ राजस्व उठाएको छ । कार्यालयले बिहीबार, शुक्रबार र आइतबारसम्म करिब करिब ४ अर्ब हाराहारीमा राजस्व संकलन गरेको बताएको छ ।
कार्यालयका अनुसार निजी क्षेत्रको सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले २५ करोड रुपैयाँ कर बुझाएको छ । त्यसैगरी, दुरसञ्चार प्राधिकरणले १ अर्ब रुपैयाँ राजस्व बुझाएको छ ।
बैंक तथा वित्तीय संस्थाले मात्रै २ अर्ब ६० करोड रुपैयाँ राजस्व बुझाएको कार्यालयले जनाएको छ । यो भनेको कुल बुझाएको राजस्वमध्ये ६५ प्रतिशत हो । ४ अर्ब रुपैयाँमध्ये बाँकी रकम प्राधिकरण, एनसेल र अन्य करदाताले बुझाएका हुन् ।
सरकारले अन्तशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) आयकर बुझाउने जेठ २५ गतेको समयसीमालाई असार ७ र असार १५ गतेसम्म सारेको छ । तर, उद्योगी/व्यवसायीले अहिले पनि कर बुझाउन थालेको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।
८० करोड रुपैयाँ भन्दा बढी कारोबार गर्ने प्रतिष्ठानहरु ठूला करदाता कार्यालयअन्तर्गत पर्छन् । ६ सय ८१ करदाता ठूला करदाता कार्यालयको सूचीमा छन् ।