१६ मङ्सिर, काठमाडौं । बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले करिब एक महिनाको छलफल र अध्ययन पश्चात तयार पारेको सरकारको न्यूनतम कार्यक्रम बिहीबार सार्वजनिक गरेका हो ।
गठबन्धनमा आवद्ध दलहरुका तर्फबाट बागमती प्रदेश सभा सदस्य युवराज दुलालको संयोजकत्वमा गठन गरिएको कार्यदलले सरकारको न्यूनतम कार्यक्रम मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई हस्तान्तरण गरेको छ ।
कार्यदलले कोभिड–१९ को महामारीबाट प्रदेशवासी नागरिकको जीवन रक्षा, संविधानको सर्वोच्चता, कानूनी राज्य र सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार सञ्चालन गरिने, संघीयताको कार्यान्वयनका लागि प्रदेश सरकारका माध्यमबाट सशक्त पहल गरी संवैधानिक क्षेत्राधिकार बमोजिम प्रदेशका अधिकारको प्रयोग र स्थानीय तहका अधिकार हस्तान्तरण गर्ने जस्ता कार्यक्रम प्राथमिकतामा राखेको जनाएको छ ।
त्यसैगरी गुणस्तरीय शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच, आर्थिक सामाजिक रुपान्तरणको आधार निर्माणका लागि उच्च र समन्यायिक आर्थिक रुपान्तरणमा जोड दिने, कृषि तथा उत्पादनमुखि अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थामा सुधार, महँगी नियन्त्रण तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने कार्यक्रमहरु प्रदेश सरकारको मुख्य कार्यक्रम हुने उल्लेख गरिएको छ ।
