नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाकामा अस्थायी प्रि–फ्याबको हेल्थ डेक्स भवन निर्माण गरिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नाकामा रहेको हेल्थ डेक्स व्यवस्थित बनाउनका लागि अस्थायी प्रि–फ्याब भवन निर्माण गरिएको हो ।
एउटा हल सहित तीन कोठे प्रि फ्याब भवन निर्माण गरिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए । टेन्ट र अस्थायी टहरामा रहेको हेल्थ डेक्स भत्काएर त्यहि ठाउँमा प्रिफ्याब भवन निर्माण गरिएको हो ।
३९ लाख ५० हजारको लागतमा निर्माण गरिएको भवन सोमबारदेखि संचालनमा आएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
फागुनको पहिलो साता बागमति प्रदेशका सामाजिक बिकास मन्त्रि युबराज दुलालले रसुवागढीमा गरेको स्थलगत भ्रमणका क्रममा नाकामा स्वास्थ्य परिक्षणको अबस्था देखे पछि बाग्मती प्रदेशबाट यो भवनको निमार्णको प्रक्रिया सुरु भएको थियो । हेल्थ डेक्स निर्माणले चिनबाट नेपाल आवतजावत गर्ने नागरिकहरुको स्वास्थ्य परिक्षण गर्न सहज हुने बताइएको छ । त्यस्तै यसअघि नाकामा स्वास्थ्य जाँच प्रभावकारी नहुदाँ चिनबाट रसुवागढी नाका हुदै अत्यावश्यक सामग्री आयात गरिने भनिएपनि हुन सकेको थिएन् ।
