सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवागढी जलविद्युतका लागि उपकरण जडान कार्य तीव्र


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ५, २०७८
  • 661
    SHARES

५ फागुन, रसुवा । उत्तरी रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य तीव्ररूपमा अगाडि बढाइएको छ ।

आयोजनाका अधिकांश संरचना निर्माण भई कोभिड सङ्क्रमणको असरले बाँकी रहेको विद्युत्गृहका उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ । भूमिगत संरचनाबाट निर्माण भइरहेको सो आयोजनाको विद्युत्गृहमा फ्रान्सिस नामक तीन टर्वाइन जडान हुने सिनियर इलेक्ट्रिकल इञ्जिनियर महेन्द्र यादवले जानकारी दिनुभयो । एक सय ११ मेगावाट क्षमताको विद्युत् आयोजनाका उपकरण जडान गर्न जिम्मा लिने भोइथ भारतीय कम्पनीमार्फत दैनिक ६० प्राविधिक जनशक्तिले तीव्ररूपमा जडान गरिरहेका छन् ।

उपकरण जडान कार्य दैनिक १२ घण्टा हुने गरेको छ । दुई महिनाको अन्तरालमा इलेक्ट्रिकल प्यानल जडान गर्ने काम भइसकेको बताइन्छ । रसुवागढी नजिक भोटेकोशीमा बाँधेर विद्युत्गृहमा प्रतिसेन ८० घन मिटर पानी पठाउने डिजाइनअनुरूप चार हजार १८५ मिटर हेड्ररेस सुरुङसमेतका संरचना निर्माण भइसकेको आयोजनाका प्रमुख सत्यराम ज्याख्वले जानकारी दिनुभयो । उपकरण जडानका साथसाथै आयोजना प्रभावित क्षेत्रका बासिन्दामाझ दिनुपर्ने सुविधाका काममा समेत सहयोग हुँदै आएको छ ।

आयोजनाले भोटेकोशी–दालगाउँ पाँच किमी, रोङ्गा–थुमन १३ किमी सडक टिमुरेमा तातोपानी पोखरी निर्माण, टिमुरे र थुमन क्षेत्रको पूरै भागमा विद्युतीकरण, थुमनमा गुम्बा निर्माण, दालगाउँमा विद्यालय भवन, टिमुरेमा भित्री सडक निर्माणका साथै ढलको व्यवस्थापन कार्य सम्पन्न गरेको छ ।

यसैगरी खैदी सडक निर्माणमा आर्थिक सहयोग, धुञ्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय भवन निर्माण, टिमुरे गाउँको फोहरमैला व्यवस्थापनका लागि ट्र्याक्टर प्रदान, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा स्वास्थ्यकर्मी तथा शिक्षक व्यवस्थापनजस्ता विविध प्रकारका थुप्रै सेवा प्रदान गरेको आयोजनाले जनाएको छ । वन क्षेत्रमा बिरुवा रोपण, डढेलो नियन्त्रण कार्यक्रमका साथै वर्षायामको समयमा स्याफ्रु–रसुवागढी राजमार्गमा हुने अवरोध हटाई यातायात सञ्चालनबाट भन्सार राजस्व असुलीमा समेत उल्लेखनीय सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)