रसुवा, २१ फागुन ।
रसुवाको उत्तरगया गाउँपालिकाले किसानहरुलाई आलुको बिउँ उपलब्ध गराउन सुरु गरेको छ । आलुखेतीलाई व्यावसायीक बनाई जिवन निर्वाहमा सघाउ पुर्याउन गाउँपालिकाले किसानहरुलाई आलुको बिउँ उपलब्ध गराउन सुरु गरेको हो ।
गाउँपालिकाले शनिबारदेखि ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बिउँ बितरण गर्न सुरु गरेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर १ तिरुमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउँ बितरण गरेका छन् । प्रति किसानलाई २५ किलोको दरले आलुको बिउँ बितरण गरिएको उनले बताए ।
त्यसैगरि वडा नम्बर १ कै करुमर्याङ, सिरुचेत, काम्लुङका किसानहरुलार्ई पनि आलुको बिउँ बितरण गर्ने तयारी रहेको उनले बताए । सोमबार सम्ममा सबै किसानलाई आलुको बिउँ बितरण गर्ने तयारी रहेको उनको भनाई रहेको छ ।

चालु आर्थिक बर्ष २०७८÷०७९ मा गाउँपालिकाको कार्यक्रम मार्फत बितरण गरिएको आलुको बिउँबाट वडा नम्बर १ का ४ सय २० घरधुरीका किसानहरु लाभान्वित हुने समेत उनले बताए । लेकमा फल्ने उन्नत जातका आलु बितरणले भुकम्प पिडित बिस्थापित परिवारको जिवन निर्वाहमा टेवा पुग्ने समेत लम्सालले बताए । ‘कृषकहरुलाई व्यावसायिक खेती तर्फ प्रोत्साहन गराउनका लागि गाउँपालिकाको कार्यक्रम मार्फत अनुदानमा आलुको बिउँ बितरण गरेका हौ, उनले भने, ।
बितरण गरिएको आलु उत्पादन बाट बढी लाभसँगै कृषकको आम्दानी स्तर बढाउन यस्तो नीति अपनाएको उत्तरगया गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आलुको बिउँ बितरण गरेको भन्दै कृषकहरु खुशी भएका छन् । आगामी दिनमा पनि कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु संचालन गर्न स्थानियहरुले अनुरोध गरेका छन् ।
त्यस्तै उत्तरगया गाउँपालिकाको वडा नम्बर १, ४ र ५ लाई आलु जोन क्षेत्रको रुपमा घोषणा गरिएको छ । उत्तरगया गाउँपालिका सहित कृषि ज्ञान केन्द्र नुवाकोटले यी क्षेत्रहरुमा व्यावसायिक रुपमा आलु खेतीका लागि कृषकहरुलाई आलुको बिउँ लगायतमा अनुदान दिएको छ ।
एकिकृत बस्तिको पनि अनुगमन
उत्तरगया गाउँपालिका वडा नम्बर १ तिरुमा निर्माणाधिन एकिकृत बस्तीको अनुगमन समेत गरिएको छ । गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल सहितको टोलिले एकिकृत बस्तीको अनुगमन गरेको हो । रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित मोहन आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङ लगायतको सहयोगमा पूर्वाधार सहित तिरु एकिकृत बस्ती निर्माणको काम अगाडि बढीरहेको गाउँपालिकाका अध्यक्ष लम्सालले बताए ।

अहिले एकिकृत बस्तीमा गुम्बा, खानेपानी योजना निर्माण र विस्तापित परिवारको निजि आवास बनिरहेको समेत उनले बताए । गाउँपालिकाको सहयोग र समन्वयमा निर्माण भईरहेको एकिकृत बस्तीको निर्माण सम्पन्न गर्न आफुहरु लागिपर्ने उनले बताए ।

