रसुवा, ६ चैत ।
न्यायमा महिलाको पहँुच पुर्याउन रसुवाको बिकट क्षेत्रमा सचेतना मुलक कार्यक्रम गरिएको छ । न्यायको पहँुच नपुगेका महिलाहरुलाई लक्षित गर्दै उत्तरगया गाउँपालिकाले रसुवा महिला संजाल मार्फत जिल्लाको बिकट गाउँहरुमा पुगी सचेतना मुलक कार्यक्रम सुरु गरेको हो ।
जिल्लाको बिकट मानिने क्षेत्रहरुमा आईतबारदेखि सचेतनाका कार्यक्रम सुरु गरिएको रसुवा महिला संजालकी अध्यक्ष सुनितामाया गुरुङले बताइन् । उत्तरगया गाउँपालिका वडा नम्बर २ खड्गुबाट सचेतनाको कार्यक्रम सुरु गरिएको उनले बताइन् ।
सचेतना कार्यक्रम मार्फत विकट क्षेत्रका नागरिकहरुलाई लैगिंक हिंसा नियन्त्रण, वालविवाह, मदिराजन्य पदार्थको सेवन, घटना दर्ता सम्बन्धी बारेमा उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, रसुवा जिल्ला अदालत न्यायाधीश राजेन्द्र नेपाल, श्रेष्ठेदार मुना अधिकारी, जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले सैदान्तिक ज्ञानबारे जानकारी दिएका छन् ।

जिल्लाका विकट वस्तीहरुमा घरेलु हिंसा, वालविवाह, वहुविवाह, जबरजस्ती करणी, सम्बन्ध विच्छेद, घरेलु हिंसा, सम्पतीका कारण हुने हिंसा अझै पनि कायमै रहेको छ । बाहिर नदेखिने तर हिंसाबाट बृद्धबृद्धा, वालवालिका, महिला तथा पुरुषहरु पिडित हुने गरेका पाईएको छ । कानुनको सहि रुपमा जानकारी नहुदा गाउँघरमा हुने घटनाले महिला हिंसा बढिरहेको रसुवा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालले बताए । बिकट क्षेत्रमा यस्ता कार्यक्रमले चेतना अभिवृद्धि गराउदै घटना कम हुने उनको भनाई छ ।

बिकट क्षेत्रका नागरिकहरु लेखपढ गर्न नजान्दा आफुले लिने नेपाली नागरिकता लगायतका अन्य परिचय पत्रहरुमा समेत अशुद्धता आउने गरेको र समयमै घटनादर्ता गर्न नजानेहरुका लागि सचेतनामुलक कार्यक्रमले सुसूचित गराउने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताइन् ।
बिकट क्षेत्रहरुमा गरिएका सचेतनाका कार्यक्रमले न्यायका लागि नागरिकहरु सचेत बन्दै जाने उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । हिंसामा परेका, न्यायको ज्ञान नभएका र न्यायको पहँुचमा नपुगेकालाई लक्षित गरि यो कार्यक्रम गरेकोमा रसुवा महिला संजाललाई धन्यवाद ज्ञापन गरे ।
बिकट क्षेत्रका नागरिकहरुले मादक पदार्थ सेवन गरि हिंसा बढेको, नागरिकता तथा अन्य परिचयपत्रहरुमा अशुद्धता भएको, घरेलु हिंसामा परेको लगायतका समास्याहरुको जिज्ञाशा राखेका छन् ।
