१२ वैशाख, २०७२ को भुकम्पले रसुवा सदरमुकाम धुन्चेस्थित रसुवा माबिको ११ कोठे भवन भत्कियो । भुकम्प पश्चात केहि संस्थाले अस्थायी संरचना बनाइदिएपछि विद्यालयको पठन पाठन त्यसैबाट सूचारु भयो । विद्यालय पुननिर्माणका लागि जिल्लामा, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा कार्यालय स्थापना भएपछि यो स्कुलको पुनर्निर्माणको काम अगाडी बढ्यो ।
विद्यालय पुननिर्माणका लागि अनुरोध गरेसँगै बिद्यालय व्यवस्थापन समिति मार्फत भवन निर्माण गरिने भन्दै २०१७ मे १७ मा जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा र रसुवा माविको बिद्यालय व्यवस्थापन समिति बिच सम्झौता भएको थियो । सम्झौतामा २ तले भवन निर्माण गर्ने र भवनमा कूल ८ कोठा हुने उल्लेख थियो । जसका लागि १ करोड १ लाख ६९ हजार ९ सय २९ रुपैया बजेट बिनियोजन भयो ।
दुई महिना अघि बिद्यालयको अत्याधुनिक भवनको संरचना तयार भयो । तर ती ठडिएको भवनमा अत्यावश्यक उपभोगका लागि चाहिने संरचना भने बनाइएन । अर्थात ः भवन बन्यो, तर, शौचालय, खानीपानी, विद्यूत कुनै सुविधा जडान नगरिकनै । बिद्यालयका प्रधानाध्यापक तेम्पा रिसाङ घलेका अनुसार विद्यालयको भवन मात्र ठडाइएको छ, खानेपानी, शौचालय, विद्युत कुनै सुविधाको जडान भएको छैन ।
विद्यालय भवन निर्माणका लागि विद्यालय व्यवस्थापन सँग भएको सम्झौतामा भवन मात्रै निर्माण गर्ने उल्लेख गरिएको छ । दुई तले ८ कोठे भवनमा ७८ वटा फलामको भ्mयाल, ३० वटा फलामको ढोला निर्माण भएको छ ।
अत्याधुनिक भवनमा भवनको चारैतिर नालिको व्यवस्था, भवनको प्रत्येक कोठामा बिद्युत जडान, छात्रछात्राका लागि शौचालयको निर्माण, खानेपानीको व्यवस्था हुनुपर्ने भएपनि सुविधा विना नै भवन बनेको घलेले बताए ।
‘शिक्षा बिभाग, मन्त्रालय र इष्टिमेट गर्नेहरुले भवन मात्र बनाइदिए , घलेले भने, इष्टिमेटमा भवन मात्र बनाउने भनेर दियो, हामीले के हो यस्तो नि हुन्छ भन्दा जस्तो आएको छ उस्तै बनाउनुपर्छ भने, अनि पहिला पनि सबै ठाउमा हारगुहार माग्दा सहयोग पाएका थिएनौ, यहि पनि नपाउने पो हो कि भनेर भवन बनायौ ।
रसुवाको सदरमुकाम मै रहेपनि यस्ता अपुर भौतिक संरचना र विद्यालयको वृद्धि विकासमा कसैले पनि सहयोग नगरेको उनको गुनासो छ ।
केन्द्रमा बसेर बनाइएको इष्टिमेटका कारण भवन मात्र निर्माण भएको हुदाँ भौगोलिक अवस्थाबारे सम्बन्धित स्थानमा गएर अध्ययन गरि इष्टिमेट तयार गर्नुपर्ने घलेको भनाई रहेको छ ।
२०१८ मे २९ मा बिद्यालयको भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो तर त्यतिबेला ७१ प्रतिशत मात्र काम सकिएको भन्दै म्याद थपका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पत्र पठाइएको थियो ।
भवन निर्माणका लागि जमिन तयारी अवस्थामा हुनुपर्ने रहेछ, भुकम्पले जिर्ण बिद्यालय भवन भत्काउन बिद्यालयसँग पैसा थिएन् । जसले गर्दा एक बर्ष ढिला भयो, घलेले भने, स्थानिय तहको निर्वाचन पश्चात गोसाइँकुण्ड गाउँपालिकाले भवन भत्काउन सहयोग गरेसँगै भवन निर्माणको प्रक्रिया सुरु भएको हो । एक महिना भित्रमा जग्गा समथर बनायौ अनि २०७४ मंसिर १७ गतेबाट सम्झौता अनुसारको भवन निर्माणको काम सुरु गर्यो ।
विद्यालय व्यवस्थापन समितिलाई भवन निर्माणको जिम्मा दिदा समयमा भवन निर्माण सम्पन्न हुन नसकेको घलेले स्विकार गरेका छन् । बर्खाको समयमा सामान ल्याउन कठिनाई लगायतका कारण भवन निर्माणमा ढिलाई भएको उनले बताए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा मार्फतका प्राबिधिकले हप्तामा दुई पटक स्थलगत अवलोकन गर्नुपर्ने भएपनि समयमा नआउदाँ थप समस्या भएको समेत घलेको भनाई रहेको छ ।
अत्याधुनिक भवनमा शौचालय, बिद्युत, खानेपानी नहुदाँ समस्या भएको छ । बिद्यालयको आर्थिक स्रोतले शिक्षक कोठा र प्रअको कोठामा तार तानेर बिद्युत लगि काम चलाउ भएको छ भने बिद्यालयको पुरानै शौचालयको प्रयोग गरिदै आएको छ । टिफिनको समयमा एकै पटक धेरै जना शौचालय जाने भएकाले लाइन लागेर जानुपर्ने बाध्यता रहेको घलेले बताए ।
खानेपानी, शौचालय र बिद्युत अतिआवश्यक रहेको बिद्यालयले जनाएको छ । बिद्युत जडान, शौचालय निर्माण, नालि निर्माण लगायतका लागि गोसाँकुण्ड गाउँपालिका मार्फत सहयोग माग गरेको र आश्वासन दिएको घलेले बताए । अत्याधुनिक भवन निर्माण भएको दुई महिना पुरा भएपनि अन्तिम किस्ता वापतको २६ लाख ६९ हजार रकम नपाउदा कामदारको ज्याला दिन समस्या भएको उनले बताए ।
तोकिएको समयमा निर्माण सम्पन्न नभएकाले रकम फिर्ता गएको र म्याद थपका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पठाइएको जिल्ला आयोजना कार्यान्वयन शिक्षाका सुचना अधिकारी अच्युत न्यौपानेले बताए । यो २०७३÷७४ को कार्यक्रम हो, तोकिएको समयमा काम नसकिएकाले बजेट फिर्ता गएको छ, अन्तिम किस्ताको लागि बिलहरु सबै हामीलाई दिएसक्नुभएको छ, न्यौपानेले भने, राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट रकम आउनासाथ हामी भुक्तानी गछौँ,
सदरमुकाम धुन्चेमा रहेको रसुवा माविमा इसिडि देखि १२ कक्षा सम्म पढाई हुन्छ । जसमा ४ सय ९२ जना बिद्यार्थी रहेका छन् । छात्रा मात्रै २ सय ८८ जना छन् ।
बिद्यालयमा नयाँ बनाइएको भवनमा कक्षा ५ देखि १० सम्मको कक्षा संचालन हुदै आएको छ । एउटा शिक्षक कक्ष, एउटा अफिस कोठा संचालन छ । इसिडि देखि ४ कक्षासम्मका लागि अस्थायी संरचना बनाइएको छ ।
कक्षा ११ र १२ भने बिद्यालयमै रहेको पुराना सामाग्री बाट बनाइएको संरचनामा पठनपाठन गराइरहेको जनाइएको छ । हिमाली जिल्ला रसुवामा बर्खायाममा हस्सु र कुइरो लाग्दा कक्षा अध्यारो हुने र पठनपाठन प्रभावित हुने गरेको छ ।
सदरमुकाम धुन्चेमा रहेको रसुवा मावि त एक प्रतिनिधि उदाहरण मात्र हो । जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा मार्फत ७३÷७४ बनेका सम्झौता भएका जिल्लाका १८ वटा बिद्यालय भवनहरुको अवस्था पनि उस्तै छ ।
कतिपय बिद्यालयले संघसंस्थाको सहयोगमा खानेपानी शौचालय निर्माण गरि प्रयोगमा ल्याए पनि कतिपय बिद्यालयको हालत भने स्थानिय तह तथा अब आउने संघसंस्थाले सहयोग गरिदिन्छन कि भनेर बाटो कुरेर बस्नुपर्ने बाध्यता रहेको छ ।
