कम मूल्यको मास्कलाई बढी मूल्यमा बेचेको, उपभोग्य अवधि सकिएका सामान बेचेको र लेबल नभएका सामान बेचेर कालोबजारी गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले एक व्यापारीलाई कारबाही गरेको छ । धनगढीको न्यू सुशील शृंगार पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालयका प्रमुख कमल पुनले जानकारी दिए ।
उक्त पसलले ६ रुपैयाँ पर्ने अर्डिनरी मास्कलाई ३० रुपैयाँमा बेचेको पाइएको छ । उपभोक्ता कार्यालयले एकजना कर्मचारीलाई ग्राहक बनाएर पठाउँदा ६ रुपैयाँ खरिद बिल भएको मास्कलाई ३० रुपैयाँमा बेचेको कार्यालय प्रमुख पुनले बताए । यस्तै, सन् २०१७ मै उपभोग्य अवधि सकिएको बडी स्प्रे, क्रिमलगायत शृंगार सामग्री बिक्री गरेको पाइएको उपभोक्ता कार्यालयले जनाएको छ । उत्पादन र उपभोग्य मिति नभएका सामान पनि सुशील शृंगारले बिक्री गरिरहेको फेला परेको कार्यालय प्रमुख पुनले जानकारी दिए ।
पुनका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार पसल सञ्चालक सन्ध्या अग्रवाललाई अनुगमनस्थलमै २ लाख जरिवाना गरिएको हो । उपभोग्य अवधि सकिएका, उत्पादन र उपभोग्य मिति नलेखिएका सामानसमेत जफत गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ । उपभोक्तालाई ठगी गरेमा, उपभोग्य वस्तुको कालोबजारी गरेको पाइएमा अनुगमनस्थलमै ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था उपभोक्ता संरक्षण ऐनमा छ ।
