मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१५० युनिटसम्मको विधूत खपतमा २० प्रतिशत महशुल छुट


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १५, २०७६
  • 708
    SHARES

नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले १५० युनिटसम्मको खपतमा चैत महिनाको महशुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । शुक्रबार बसेको बोर्डको बैठकले सबै ३८ लाख घरेलु ग्राहकलाई चैत महिनाको महशुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बताएका छन् ।
यसबाट विद्युतीय चुलो (इन्डक्सन हिटर) लगायत विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन मिल्ने उनले उल्लेख गरेका छन् । ‘यसले बन्दाबन्दीमा जनतालाई थोरै भएपनि राहत हुनेछ,’ उनले भने । बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोरोना रोकथाम, नियन्त्रण उच्चस्तरीय समितिको बैठकले इन्डक्सन चुल्होमा भन्सार छुट दिने र विद्युत् महशुल पनि पुनर्विचार गर्ने निर्णय गरेको थियो ।
कोरोना भाइरसको महामारीको जोखिमका कारण सरकारले लकडाउन गरेपछि उद्योगधन्दा, प्रतिष्ठानहरु बन्द भएका छन् । जसका कारण विद्युत्को व्यापार गर्ने मुलुकको एकमात्र निकाय नेपाल विद्युत् प्राधिकरणले डिमाण्ड शक ब्यहोर्न थालेको छ ।
प्राधिकरणले विद्युत्को माग ह्वात्तै घटेको जनाएको छ । विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युत्को प्रयोग भइरहेकाले अहिले विद्युत्को लोड घटेको बताइएको छ । लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युत्को अधिकतम माग (पिक डिमाण्ड) १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ । रातमा विद्युत्को माग ४ सय ८३ मेगावाटसम्म झरेको छ । बिहान विद्युत्को माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको छ । मध्यान्ह १२ बजेको डिमाण्ड ६ सय २८ मेगावाट छ । विद्युत् साँझ विहान बढी खपत हुन्छ ।
‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युत्को लोड ह्वातै घटेको हो,’ कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्याँसको अभावमा भएमा इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउनु होला, हामीसँग पर्याप्त विद्युत् उपलब्ध छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)