चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ ।
कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले निर्देशन दिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनले आफ्नो स्थानीय प्रशासनलाई सो निर्देशन दिएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मन्त्रालयबाट चीन नाका खोल्न तयार रहेको जानकारी आएको र आवश्यक समन्वय गरी चाँडै नाका सञ्चालन गरिन लागेको जानकारी दिए।
तातोपानी नाकाका भन्सार प्रमुख लालबहादुर खत्रीले चीनतर्फको भन्सार नियमित गर्न निर्देशन भइसकेको जानकारी पाएको बताए । कोभिड–१९ फैलिन शुरू भएपछि तीन महिना चीनले सबै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो ।
यस अधि नेपाल सरकारले पनि अत्यावश्यकिय बस्तु आयातका लागी चीन तर्फको दुबै नाका तातोपानी र रसुवा गढी नाका संञ्चालनमा ल्याउने निर्णय गरेको थियो। तर स्थानियहरुले नाका खोल्दा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जोखिम व्यवस्थापन गरेर मात्र नाका खोल्न सरकारलाई आग्रह गरेका थिए।
