शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनबाट मात्रै समस्याको समाधान हुदैन नेपाली काँग्रेसका १२युवा नेता


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २८, २०७६
  • 664
    SHARES

नेपाली काँग्रेसका १२ नेताले कोरोना संक्रमण रोक्न लकडाउनबाट मात्रै समस्याको समाधान नहुने भन्दै १० विकल्पमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

परीक्षणको दायरा बढाउन, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न, विदेशबाट आउन चाहने र देशभित्रैका नागरिकको उद्धार गर्न र मजदुरहरूलाई राहत ल्याउने समेत उनीहरूले सरकारसँग माग गरेका छन्।

सांसद पूर्वाधार कोषको  रकम महामारीविरुद्धको कोषमा लगाउन र पूर्वपदाधिकारीहरूको सुरक्षा र सुविधा कटौतीसहितको माग उनीहरूले  गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै काँग्रेसका युवा नेताहरू गगन थापा ,डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे,, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

  विज्ञप्तिको पूर्ण पाठ

यतिवेला विश्व कोरोना भाइरस (कोभिड १९) को जघन्य महामारीबाट आक्रान्त बनेको छ । संसारका लगभग शतप्रतिशत देशहरू यसको प्रकोपमा परेका छन् । यो मानव सभ्यतामाथिकै दुर्लभ संकट हो । सरकार भनेको जनताको अभिभावक हो । नेपालजस्ता विकासशील राष्ट्रका लागि त यस्ता महामारी गम्भीर चुनौती र खतरा हुन् । अहिले हामी यहि संकट झेलिरहेका छौँ ।

कोरोनाले विश्वव्यापी रूप लिएसँगै  हामीसँग लकडाउनको विकल्प थिएन र निकै अघिबाटै देखाइनुपर्ने तदारुकता ढिलै भए पनि अवलम्बन गर्नु सराहनीय कदम थियो । जनतालाई जस्तासुकै संकटबाट पनि जोगाउन र बचाउन सक्ने सामर्थ्य सरकारसँग हुनुपर्दछ । अहिलेको संकटबाट नेपाली जनतालाई बचाउनु र अभिभावकत्व दिनु वर्तमान सरकारको दायित्व हो । लकडाउन मात्र सम्पूर्ण समस्याको समाधान होइन । त्यसैले नेपालले अवलम्बन गर्नुपर्ने केही विकल्पहरूका बारेमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

१. अहिलेसम्म भइरहेको परीक्षणको गति अत्यन्त सुस्त छ । यस्तो गतिमा गरिने परीक्षणले भाइरस संक्रमित व्यक्तिको तीव्र गतिमा पहिचान हुन सक्दैन । तसर्थ सरकारले परीक्षणको दायरा र गति बढाउनुपर्दछ। यसका लागि परीक्षण केन्द्रहरू अविलम्ब थपिनुपर्दछ ।
साथै कोरोना भाइरसबाट संक्रमित व्यक्तिको पहिचानका लागि आवश्यक पर्ने परीक्षणका लागि चाहिने परीक्षण किट, पिपिईलगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको  बन्दोबस्त गरिनुपर्छ, जसका कारण कोरोना नियन्त्रण अभियानमा कुनै पनि कारणले अवरोध उत्पन्न नहोस् ।

२. यस महामारीकै कारण विदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउन दिने व्यवस्था मिलाइनुपर्छ । सीमामा आइपुगेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई नेपाल प्रवेश गराई क्वारेन्टाइनमा राखिनुपर्छ। आवश्यक स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि मात्र घर जाने व्यवस्था मिलाइनुपर्दछ ।

३. विश्वव्यापी कोरोना संक्रमणको महामारीबाट राष्ट्र आक्रान्त बनेको समयमा आफ्नो जीवनलाई उच्च जोखिममा राखेर जनसेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका सम्बन्धित सबै व्यक्तिहरूको बारेमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्दछ । सुरक्षाकर्मीहरूको तलब कटाउने कार्य सर्वथा अनुचित छ । सरकारको यो निर्णयले यस अभियानमा लागेका सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याएको छ ।

४. स्वास्थ्यकर्मीलगायतका सम्बन्धित सबैको आर्थिक सुरक्षा र प्रोत्साहनस्वरूप बिमा र यथेष्ठ भत्ताको व्यवस्था गरिनुपर्छ ।

५. यस संकटको समयमा खर्च कटौती गर्न सांसद विकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राखिनुपर्दछ । साथै पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षासमेत कटौती गर्दै जनताको हितमा लगाउनुपर्दछ ।

६. दैनिक ज्याला–मजदुरी गरेर बाँच्ने गरिब नेपाली तथा वृद्धवृद्धाहरूका लागि यथोचित राहतको व्यवस्था गरिनुपर्दछ ।

७. संसारभर रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे विदेशस्थित नेपाली दूतावास र अन्य कूटनीतिक माध्यमबाट जानकारी हासिल गरी आवश्यक सहयोग गर्नुपर्दछ ।

८. यस महामारीका कारण नेपालीको दैनिक जनजीवन अस्तव्यस्त बन्दै गएको छ। किसानहरूका पशुचौपायासमेत खाद्यान्नको अभावमा परेर मर्ने खतरा बढेको छ । सरकारले यस विषयलाई समेत गम्भीरतापूर्वक लिई उपयुक्त कदम चाल्नुपर्दछ ।

९. इतिहासमा विरलै आइपर्ने यस्ता महामारी र घनघोर संकटसँग हामी सबै नेपाली एकजुट भएर जुझ्नुको विकल्प छैन। यस्तो विपत्काे वेलामा सरकार चलाउने मुख्य व्यक्तिले टर्रो र गैरजिम्मेवार अभिव्यक्ति दिनुहुँदैन ।

१०. राष्ट्र संकटबाट गुज्रिरहेको यस संवेदनशील घडीमा भष्ट्राचारको कल्पना गर्नु र त्यसमा संलग्न हुनु निम्नकोटिको अपराध हो। यस्ता अपराधीहरूलाई राष्ट्रले माफ गर्न सक्तैन । अहिले कुनै कारणबाट त्यस्ता पात्र र प्रवृत्तिले उन्मुक्ति पाए पनि उचित समयमा उनीहरू दण्डित हुनेछन् ।

हामी नेपालीहरूले आफ्नो देशको मात्र होइन, संकट परेको बेला विश्वलाई नै योगदान  दिन सक्छन् भन्ने सन्देश दिँदै आफ्नो कुशल नेतृत्व र भूमिका प्रदर्शन गर्न सक्नुपर्दछ ।
नेपाली काग्रेसका केन्द्रीय सदस्यहरू
डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ, किरण यादव । जय नेपाल ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)