सरकारले कोभिड-१९ को संक्रमण फैलिन नदिन घोषित देशव्यापी ‘लकडाउन’ लाई प्रभावकारी बनाउनका लागि बिदामा रहेका सम्पूर्ण निजामती तथा राष्ट्रसेवक कर्मचारीहरूलाई परिचालित हुन सर्कुलर जारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयस त्रिपाठीले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई सर्कुलर जारी गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सक्रियता अपनाउन निर्देशन दिएका हुन्।
लकडाउनसँगै अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक धेरै कर्मचारीहरु बिदामा छन् । कर्मचारीहरूलाई आफू बसेको स्थानमा सामाजिक दुरी कायम गर्न लगाउनु पर्ने र विदेशबाट आएका व्यक्तिलाई वडा कार्यालय र स्थानीय प्रशासनसित समन्वय गरी क्वारेन्टाइनमा राख्न भनिएको छ ।
कोभिड-१९ सित मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिलाई अस्पताल पुर्याउन अनुरोध गर्ने , दैनिक उपभोग्य वस्तुको अभाव र कालो बजारी हुन नदिन तथा भएको पाइएमा वाणिज्य तथा आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालयलाई तत्काल सूचित गर्नसमेत कर्मचारीहरूलाई भनिएको छ ।
सरकारले दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने बजार, किराना पसल तथा तरकारी तथा फलफूल बजारमा सामाजिक दुरीको नियम पालना भए/नभएको अनुगमन गर्न, नभएको पाइएमा पालना गराउनसमेत कर्मचारीलाई निर्देशन दिएको छ ।
आफू बसेको वडा कार्यालयमा हुने अति विपन्न नागरिकको लगत संकलन र राहत वितरण कार्यमा सहयोग र समन्वय गनसमेत कर्मचारीहरूलाई निर्देशन दिइएको छ ।।
