बिहिबार, बैशाख २७, २०८१

नेकपामा उल्टियो समीकरण


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २१, २०७७
  • 399
    SHARES
  • प्रधानमन्त्री ओलीले राजीनामा दिनै पर्ने अडानमा रहेका नेताहरू पनि पछि हटे ।

 

काठमाडौं । पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ। नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहितका नेकेही नेताले पार्टी र सरकार सञ्चालनमा प्रधानमन्त्री असफल भएको भन्दै गत १७ वैशाखको सचिवालय बैठकमा ओलीको राजीनामा माग गरेका थिए। तर, शनिबारको बैठकमा भने एकाएक देखिएको नेताबीचको मेलमिलाप नीतिपछि नेताहरूका असन्तुष्टि र आक्रोश मत्थर मात्र भएको छैन, प्रधानमन्त्री तथा अध्यक्ष ओलीदेखि सबै नेताले आ–आफ्ना कमजोरी स्वीर्कादै आत्मआलोचना समेत गरेका छन्। प्रधानमन्त्री ओलीले बैठकमा पार्टी र सरकार सञ्चालनमा आफ्ना तर्फबाट कमजोरी भएको भन्दै आत्मआलोचना गरेपछि राजीनामा दिनै पर्ने अडानमा रहेका नेताहरू पनि पछि हटेका थिए।ओलीले विगतमा सरकारबाट पार्टीलाई छलेर कतिपय निर्णय गर्दा कमजोरी भएको र अबका दिनमा त्यसरी नजाने प्रतिवद्धतासहित आत्मआलोचना गरेको सचिवालयका एक सदस्यले जानकारी दिए। ‘म सबै कुरा मान्छु। मैले पार्टी र सरकारबीच समन्वय गरेर अगाडि बढ्ने कुरामा गल्ती गरें। जे–जे गरे मैले ठिक गरिन्। त्यसका लागि म गम्भीर आत्मआलोचना गर्छु’, ओलीलाई उदृत गर्दै एक सदस्यले सुनाए, ‘म सरकार सञ्चालनका विषयमा अब पार्टीको विधि र पद्दती अनुसार पार्टी निर्णयका आधारमै अगाडि जान्छु। तपाईहरूले पनि आफ्ना तर्फबाट भएका कमजोरीको जिम्मा लिनुहोस्। अब एकतावद्ध भएर जाऔं।’

अध्यक्ष दाहालले पनि नेताहरूबीचमा अविश्वास पैदा हुनेमा सबै पक्षबाट कमी कमजोरी भएको र त्यसलाई सच्चाउँदै एकतावद्ध भएर जानुको विकल्प नरहेको भन्दै आफ्नो कमजोरी स्वीकारेका थिए। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले बैठकमा आत्मआलोचना गरेको र अर्का अध्यक्ष दाहाललगायतका अन्य नेताले पनि आ–आफ्नो जिम्मेवारीका हकमा आत्मआलोचित हुँदै पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्या र संकटलाई समाधान गर्न एकतावद्ध भएर पार्टी एकताको पक्षमा ढृढ रहने निर्णय भएको जानकारी सञ्चारकर्मीलाई दिए।

‘पार्टी एकताको रक्षा गर्ने र सुढृढ गर्ने, पार्टी एकतालाई कमजोर पार्ने र फुट उन्मुख गर्ने कुनै क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ’, प्रवक्ता श्रेष्ठले भने। सचिवालयका अर्का एक सदस्यका अनुसार, बैठकमा दुई अध्यक्षपछि बोलेका वरिष्ठ नेता झलनाथ खनालले एकतावद्ध भएर जाने प्रतिवद्धता नेताहरूबाट आएपछि त्यसरी नै जानु उपयुक्त रहेको धारणा राखेको थिए। खनाल अघिल्लो बैठकमा भन्दा नम्र भाषामा शनिबारको बैठकमा प्रस्तुत भएका थिए। खनालले स्थायी समिति बैठक बोलाउन माग गरेका थिए।

खनालपछि बोलेका बरिष्ठ नेता नेपालले एकतावद्ध भएर जाने, कमी कमजोरी स्वीकार गर्ने विषय सही भए पनि दुई नेताको चोचोमोचो मात्र मिलाउने कुरा मात्र हो भने आफूले त्यसलाई नमान्ने बताएका थिए। उनले पार्टी नेताहरूले स्थायी समिति बैठक माग गरेकोले स्थायी समिति बैठक बोलाउनु पर्ने धारणा राखेका थिए।

उपाध्यक्ष वामदेव गौतमले भने नेताहरूबीच मेलमिलाप देखिनु, एकतावद्ध भएर जाने विषय आउनु असाध्यै राम्रो भएको बताउँदै नेताहरूले गुटबन्दी त्याग्नुपर्ने धारणा राखेका थिए।

प्रवक्ता श्रेष्ठले एकताका कुरा आउनु अत्यन्त खुसीको विषय भएको धारणा राख्दै अब पार्टी विभाजनको खतरा अन्त्य हुनुपर्ने बताएका थिए। उनले भैंसेपाटी बैठकले अध्यादेश फिर्ता लिन लगाउने र नभए स्थायी समिति बैठक बोलाएर भए पनि अध्यादेश फिर्ता गराउने भन्ने मात्र निष्र्कष निकालेको भए पनि राजीनामाको विषय कहाँबाट आएको भन्दै प्रश्न गरेका थिए।

‘भैंसेपाटी बैठकले अध्यादेश फिर्ता लिन लगाउने भन्ने वाहेकको कुनै निष्र्कष निकालेको थिएन। राजीनामाको विषय नै कहीं कतै थिएन। पार्टी फुटमा लैजाने तरंगित बनाउने विषय कसरी आए रु ’ श्रेष्ठलाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘म कसैका ब्यक्तिगत स्वार्थ केन्द्रित गुटगत बैठकहरूमा भाग लिने छैन। गौतमजीको अघिल्लो सचिवालयमा प्रधानमन्त्री बनाउने प्रस्ताव फिर्ता भएको हो वा के हो ? यस विषयमा बैठकमा प्रष्टाउनु आवश्यक छ।’

सदस्य रामबहादुर थापा, ईश्वर पोखरेल र विष्णु पौडेलले भने नेताहरूका बीचमा रूपान्तरणसहितको एकताको कुरा आएकोले सकारात्मक सन्देश गएको धारणा राखेका थिए।

२५ बैशाखमा स्थायी समिति बैठक

२० जना स्थायी समिति सदस्यले लिखित रूपमा माग गर्दै आएको पार्टी स्थायी समिति बैठक बैशाख २५ गते काठमाडौंमा बोलाउने निर्णय भएको छ। त्यसका लागि आवश्यक तयारी गर्न २४ गते पुनः सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘पार्टीभित्रको एकता, सहमति र समाधान निष्र्कष अनुरूप पार्टीलाई दिशा निर्देशित गर्ने गरी त्यसका निम्ति आवश्यक छलफल गर्न स्थायी समिति बैठक वैशाख २५ गते ११ बजे काठमाडौंमा बस्ने र त्यसको तयारीका लागि सचिवालय २४ गते ३ बजे बस्ने पनि तय भएको छ।’ नेकपा भित्रको विवाद समाधानका लागि शनिबारको सचिवालय बैठक नेकपामा निर्णायक देखिएको छ।

दाहाल र नेपाल पक्षका नेताहरूले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी दुवैको नेतृत्वबाट राजीनामा माग गरेपछि विवाद पेचिलो बनेको थियो। ओली पक्षका नेताहरूले प्रधानमन्त्रीको राजीनामाको माग असामयिक र कम्युनिस्ट पार्टीको आन्दोलनको भविश्यका दृष्टिकोणले पनि अनुचित रहेको बताउँदै आएका थिए। प्रधानमन्त्रीले ओलीले १७ बैशाखमा बसेको सचिवालय बैठकमा कोरोना संकटपछि आफूले राजीनामा दिने, त्यसपछि वामदेवलाई प्रधानमन्त्री बनाउने, माधव नेपाललाई पार्टीको ते श्रो अध्यक्ष बनाउने प्रस्ताव गरेपछि संकटले फरक दिशा लिएको थियो। ओलीका यो अस्त्रले नेकपा पुनः एक जुट झै देखिएको छ।

गौतम उमेदवार बन्लान ?

ओलीले आफ्नो प्रस्ताव अनुसार नै उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने र त्यहाँ लैजान विषयमा छलफल गराएका थिए।उनले विद्यान संशोधन गरी वरिष्ठ नेता नेपाललाई पार्टीको ते श्रो अध्यक्ष बनाउन गरेको प्रस्ताव भने नेपाल आफैंले अस्वीकार गरेपछि त्यो ‘च्याप्टर’ नै बन्द भएको प्रवक्ता श्रेष्ठले बताए। वामदेवले पनि राष्ट्रिय सभामा जाने अस्वीकार गरिरहेका छन्।

गौतम र ओलीबीच सचिवालय बैठक अगाडि छुट्टै छलफल भएको थियो। छलफलमा भएका विषय सचिवालय बैठकमा जानकारी गराइएको थिएन्।

गौतमलाई पाल्पा क्षेत्र नम्बर १ का सांसद दलबहादुर रानालाई राजीनामा दिन लगाई उनको स्थानमा उपचुनाव गराएर प्रतिनिधिसभा ल्याउन सहमति जुटेको नेकपा स्रोतले बतायो। राना गौतम निकट नेता हुन्। त्यहाँ गत चुनावमा रानाले ३२ हजार ५४९ मत ल्याएर विजयी भएका थिए। अब गौतम त्यही उम्मेदवार बन्न जानेछन्।

सरकार नेकपाको विधि र पद्धति अनुसार

सरकार पार्टी कमाण्डमा नचलेको आरोप लागिरहेका बेला शनिबारको सचिवालय बैठकमा अब सरकार पनि पार्टीको विधि र पद्दती अनुसार निर्णयकै आधारमा सञ्चालन गर्ने निर्णय भएको श्रेष्ठको भनाइ छ। ओलीले शनिबारको छलफलमा संसद्को बजेट अधिवशेन बोलाउने बिषयमा पनि नेताहरूलाई जानकारी गराएका थिए। कोभिड–१९ विरुद्ध सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर परिचालन गर्नुपर्ने आवश्यकता महसुस गर्दै नेकपा सचिवालय पार्टी पंक्तिलाई पनि एकतावद्ध भएर त्यो निर्णयमा पुगेको हो।

बहुमतका लागि दिनभर कसरत

सचिवालय बैठक अगाडि आफ्नो पक्षमा बहुमत जुटाउन प्रधानमन्त्री ओलीले शनिबार दिनभर प्रयास गरेका थिए। उनले शनिबार उपाध्यक्ष गौतम, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरी आफ्नो पक्षमा उम्भाउन सफल भए।

राष्ट्रपतिसँग अर्थपूर्ण भेट

सचिवालय नेताहरूलाई आफ्नो पक्षमा सहमत गराएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। पार्टी सचिवालय बैठक अघि आफूले सचिवालयमा बहुमत जुटाएपछि भण्डारीसँग प्रधानमन्त्रीले शीतल निवासमा गरेको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ। एक साताका बीचमै ओलीले शनिबारसहित राष्ट्रपतिसँग तीन पटक भेटवार्ता गरिसकेका छन्।

राष्ट्रपतिसँग भेटपछि उनले अध्यक्ष दाहालसँग एक्लै भेट गरी सचिवालय बैठक सुरु गरेका थिए। जहाँ उनले आफूविरुद्ध नेताहरूको मोर्चावन्दी तोडेर आफू अनुकुलको निर्णय गराउन सफल भएका थिए। ओलीले दाहाललाई पनि आफूसँगै एउटै लहरमा आफ्नो जस्तै कुर्सीमा राख्ने ब्यवस्था शनिबारको सचिवालय बैठकमा गरे। अन्नपुर्णपोष्ट दैनिक

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }