अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी संयुक्त राज्य अमेरिकाका लागि अहिलेसम्मकै सबैभन्दा भयानक आक्रमण भएको बताउनु भएको छ । चीनतर्फ इंकित गर्दै राष्ट्रपति ट्रम्पले कोरोना आक्रमण अमेरिकाका लागि दोस्रो विश्वयुद्धताका जापानीहरुले पर्ल हार्वरमा गरेको आक्रमण र दुई दशक अघि न्युयोर्क स्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको ९/११ आक्रमणभन्दा पनि खराब भएको बताउनु भएको छ ।
कोरोना भाइरसको उद्गमस्थल चीनमा शुरुकै अवस्थामा सही रुपमा व्यवस्थापन गर्न नसक्दा विश्वभरि नै महामारी फैलिएको राष्ट्रपति ट्रम्पको आरोप छ । बेइजिङले भने अमेरिकाले कोरोना महामारी नियन्त्रणमा आफ्नो अक्षमता लुकाउन र विषयान्तर गर्न चीन माथि दोषारोपण गरेको प्रतिक्रिया दिएको छ । कोरोना संक्रमणका कारण अमेरिकामा मात्रै हालसम्म ७३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । संक्रमितको संख्या पनि १२ लाखभन्दा बढी छ ।
विश्वमा कोरोना संक्रमणबाट संयुक्त राज्य अमेरिका सबैभन्दा प्रभावित छ । विश्वव्यापी रुपमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ६३ हजार भन्दा बढी छ भने संक्रमितको संख्या पनि ३७ लाख ४८ हजारभन्दा बढी छ ।।
