कोरोना भाइरस संक्रमणबाट विश्वमा संयुक्त राज्य अमेरिकापछि रुस दोस्रो उच्च संक्रमण दर पुष्टि भएको देश बनेको छ । रुसमा हालसम्म २ लाख ३२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । गएको २४ घन्टामा मात्रै रुसमा १० हजार ९ सय जनामा संक्रमण पुष्टि भएको छ ।
रुसमा विगत दश दिनदेखि लगातार दैनिक १० हजारभन्दा बढी मानिसमा संक्रमण भएको भेटिएको छ । संक्रमित मध्येमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनका प्रवक्ता दिमित्री पेसकोभ पनि रहेको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति पुटिनका प्रवक्ता दोस्रो उच्च ओहोदाको संक्रमण पुष्टि हुने व्यक्तित्व हुनुहुन्छ । यस अघि रुसी प्रधानमन्त्री माइकेल मिसेस्ट्रिनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लकडाउन खुकुलो गरेको भोलिपल्टै उच्च तहमा समेत कोरोनाको संक्रमण पुष्टि भएको हो । मंगलबारदेखि नै रुसमा कारखाना तथा निर्माण सम्बन्धी श्रमिकहरु कामा फर्किएका छन् । रुसमा ठूलो संख्यामा संक्रमण भेटिए पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार १ सयको हाराहारीमा मात्रै रहेको छ । रुसी सरकारी अधिकारीहरुले देशले आम रुपमा कोरोना परीक्षण गरी सावधानी अपनाएकै कारण न्युन मृत्युदर रहेको बताएका छन् । तर धेरैजसोले सरकारले जारी गरको मृत्यु हुनेहरुको तथ्यांकमा विश्वसनीयता नभएको बताउँदै वास्तविक मृत्युदर निकै उच्च रहेको बताएका छन् । विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ लाख ५५ हजारभन्दा बढी छ । कोरोना संक्रमणकै कारण विश्वभर २ लाख ९१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।।
