संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या करिव ९५ हजार पुगेको छ । संक्रमितको संख्या पनि १६ लाख नजिक छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा करिव १५ सयको मृत्यु भएको छ भने करिव २१ हजार बढी नयाँ संक्रमित थपिएका छन् । यसैबीच झण्डै दुई महिना लामो लकडाउन अन्त्य गर्दै आंसिक रुपमा ५० वटै राज्य खुल्ला गरिएको छ ।
अर्थतन्त्रलाई गति दिने भन्दै निश्चित सर्त सहित पसल, रेस्टुरेन्ट लगायत खोल्न अनुमति दिइएको छ । अमेरिकाका ५० वटा राज्य मध्ये कनेक्टिकट लकडाउन खुकुलो पार्ने अन्तिम राज्य बनेको छ । अन्य राज्यहरु यस अघि नै आंसिक रुपमा खुल्ला गरिसकिएको थियो । संक्रमण बढिरहेको अवस्थामा अर्थतन्त्र पुनः सुचारु गर्ने विषयमा राज्यहरु बीच व्यापक मतभिन्नताकै बीच लकडाउन खोलिएको हो ।
लकडाउन खुकुलो गर्ने पूर्वसर्तका रुपमा राज्य सरकारले अघिसरिएको १४ दिन कोरोनाको संक्रमण दर हेरेर घट्दो गतिमा गएमा लकडाउन खुल्ला गर्न सकिने भनिएको थियो । तर कतिपय राज्यले यो नियमको पनि पालना गरेनन् । पछिल्लो समय समग्रमा अमेरिकामा कोरोना भाइरसको नयाँ संक्रमण दर र मृत्युदर दुबै घट्दो क्रममा रहेको छ ।
अमेरिकामा पनि कोरोनाबाट सबैभन्दा प्रभावित राज्यहरु न्युयोर्क, न्युजर्सी र वासिङ्टनमा संक्रमण निकै घटेको छ । एरिजोना र नर्थ क्यारोलिना राज्यमा भने संक्रमण दर निरन्तर रुपमा बढिरहेको छ । अन्य धेरैजसो राज्यको अवस्था भने स्थिर रहेको छ ।
विश्वमा कोरोना संक्रमणका कारण हालसम्म ३ लाख २७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ५० लाख बढी संक्रमित छन् । यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर नै संक्रमित र मृत्यु हनेको संख्यामा आकस्मिकरुपमा बढेको छ । ४ हजार ७ सय बढीको मृत्यु भएको छ भने करिव करिव १ लाख नयाँ संक्रमित थपिएका छन् ।।
