प्रहरी हिरासतमा मारिएका अश्वेत व्यक्ति जर्ज फ्लोयडको समर्थनमा अमेरिकाको राजधानी वासिङटन डिसीमा ठूलो जनप्रदर्शन भएको छ । फ्लोयड मारिएको १२औं दिनमा भएको प्रदर्शनमा दशौं हजार मानिसहरु भेला भएर जातीयता र प्रहरी दमनको विरोध गरेका छन् । सुरक्षाकर्मीहरुले राष्ट्रपतिको कार्यालय ह्वाइट हाउससम्म जाने बाटो छेकेको भएपनि नजिकै रहेका लिङ्कन मेमोरियल र लाफायट पार्कमा दशौं हजार मानिसहरु भेला भए ।
अमेरिकासंगै बेलायत, अष्ट्रेलियालगायत देशहरुमा पनि विरोध प्रदर्शनहरु भएका छन् । सरकारले कोरोनाभाइरसको संक्रमण विरुद्ध सचेत बनाएपनि बेलायतको राजधानी लण्डनमा मानिसहरुले घटनाको विरोधमा भएको प्रदर्शनमा सहभागिता जनाउका छन् । यसैगरी अष्ट्रेलियाको पनि सिड्नी, मेलवर्न, ब्रिसवेन लगायतका शहरहरुमा फ्लोयडको समर्थनमा प्रदर्शनहरु भए ।
गत २५ मे मा पक्राउ परेका फ्लोयडलाई प्रहरीले घुँडाले घाँटीमा थिचेर मारेको भिडियो सार्वजनिक भएपछि अमेरिका भरी र विश्वका अन्य मुलुकहरुमा पनि अश्वेत जातीका माथि हुने गरेको विभेद र दमनलाई लिएर प्रदर्शन भइरहेको छ । प्रदर्शन बढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालन गर्नुभएको छ । जसको कारणबारे उहासंग संसदले जवाफ मागेको छ ।।
