कोभिड-१९ को महामारीबाट निकै आक्रान्त बनेका यूरोपेली मुलुकहरु बेलायत, इटली, स्पेन र फ्रान्स लगायत मुलुकहरुले लकडाउनलाई सहज बनाउदै आर्थिक क्रियाकलाप शुरु गरेका छन् ।
लकडाउन खुकुलो पार्दै युरोपेली संघमा आवद्ध देशहरु बीच आजैदेखि सीमा खुल्ला गरिने भएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले कोरोना भाइरसको संक्रमणका कारण देशभर लागू गरिएको लकडाउनका प्रतिबन्धहरु विस्तारै खुकुलो पार्दै जाने घोषणा गर्नु भएको छ । आजैदेखि फ्रान्सभर क्याफे तथा रेस्टुरेन्टहरु खुल्ला गरिनेछ । साथै अन्य युरोपेली देशहरुमा यात्रा गर्न समेत अनुमति दिइने भएको छ ।
कोभिड-१९ को प्रकोपका कारण अवकाश गृहमा रहेका परिवारका सदस्यहरुसँग भेट गर्न पनि यस अघि लगाइएको प्रतिबन्ध हटाउँदै पारिवारिक पुनर्मिलनको अवसर प्रदान गरिएको छ । युरोपमा व्यापारिक कारोवारहरु पुनः संचालनमा आउनुका साथै विद्यालयहरु पुन संचालन गरिने भएको छ । आगामी जुलाई १ बाट बाह्य सीमा समेत खुकुलो बनाइने भएको छ ।
बेलायतले आजबाट सबै किसिमका पसल र व्यवसायिक मलहरु खुला गर्दै छ । यसले त्यहाँको जनजीवन अझै सामान्य हुने बताइएको छ । यसै गरी जर्मनीले गत अप्रिलबाट नै साना पसलहरु खुल्ला गरी गरी व्यवसायलाई सुचारु गरिसकेको छ ।
बेल्जियम, क्रोयसिया, स्वीटजरल्याण्ड र जर्मनीले आज पूर्ण रुपमा सीमा खुल्ला गरेका छन् । इटालीले गत जुन ३ देखि नै सीमा नाका खुल्ला गरेको छ भने पोल्याण्डले पनि गत जुन १३ देखि नै यात्रुहरुका प्रतिबन्ध हटाएको हो । तर लकडाउन खुला गरिएपनि त्यहाँ संक्रमण अझै कायमै रहेकोले स्वास्थ्य सतकतामा भने कडाइ गरिएको छ । सामाजिकदूरी, व्यक्ति व्यक्तिबीचको दूरी, मास्क लगायतको प्रयोगलाई अनिवार्य गरिएको छ ।।
