
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रतिनिधिसभा सचेतक शान्ता चौधरीले विश्वका विभिन्न देशमा त्यस्ता घटनाहरुमा मृत्यु दण्ड दिने गरेका समाचार अइरहेका बेला नेपालको सन्दर्भमा के गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आपराधिक मानसिकता बोकेकाहरुलाई झड्का लाग्नेगरी मृत्युदण्डको कानून हुन्छ वा लिंग छेदन गर्ने हुन्छ के गर्न सकिन्छ गरौ । मृत्युदण्ड कत्तिको सहज छ ? यो विषयमा हामीले भन्दा पनि कानुनको विषयमा तपाईं जानकार हुनुहुन्छ । अपराधिक मानसिकता बोकेकाहरूलाई एकखालको झट्का लाग्नेगरी मृत्युदण्डको कानुन हुन्छ कि लिंग छेदन गर्ने हुन्छ कि के गर्न सकिन्छ । उनीहरूले मान्छे मार्छन् भने उनीहरूका लागि राम्रो कानुन बनाइराख्नु पर्दैन । संसद भएको भए के के गर्ने हो त्यहीँ गरिन्थ्यो । तर नभएको बेलामा संसदीय समितिमा छलफल गरौं र हामीहरू छलफल गरौं ।’’
जनता समाजवादी पार्टी (जसपा) सांसद प्रमिला यादवले यस्ता घटनाहरुको अन्त्य गर्न अन्तर्राष्ट्रिय सन्धिको अध्ययन गरेर कडा कारवाहीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले १६ वर्षमुकिालाई बलात्कार गरिएको घटनामा मृत्युदण्डको सजाय दिने कानुन बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘१६ वर्षमुनिकालाई बलात्कार गरिएको छ भने मृत्युदण्डको कानून बनाउनुपर्छ । आजिवन काराबासको व्यवस्था गर्नुपर्छ । हाम्रो पार्टीले यसमा सहयोग गर्छ ।’’
महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले नाबालकलाई बलात्कार गरेर हत्या गर्नेलाई फाँसीको सजाय हुनुपर्ने विषयमा समितिले विगत एक वर्षबाट नै अनौपचारिक छलफल सुरु गरेको बताउनुभयो । संसदको सबै महिला सांसदहरु एक ठाउँमा भएर समितिको तर्फबाट यसका लागि सरकारलाई निर्देशन दिँदा अझ दबाब बढ्ने भएकाले कम्तिमा पनि एसिड आक्रमण सम्बन्धि कानुन जस्तै कडा कानुन बनाउनुपर्ने बताउनुभयो ।
सांसदहरु शान्तिमाया पाख्रिन, बिमला राइ पौड्याल, कोमल वली, उदया शर्मा पौडेल, लक्ष्मी चौधरी, आशा विक, लक्ष्मी विक, विमला विक, अमृता थापा लगायतले पनि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।