बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०७७
  • 1.3K
    SHARES

पोखरा। कोभिड महामारीका कारण प्रभावित पोखराको पर्यटन क्षेत्रमा पछिल्ला दिनमा चहलपहल देखिएको छ । दशैं शुरू भएयता आन्तरिक पर्यटकको आगमन बढेको हो । कोरोना महामारीकै बीच पोखराको पर्यटन केही मात्रामा भए पनि चलायमान बन्ने अपेक्षा व्यवसायीको छ ।

विगतका वर्षमा जस्तो दशैं, तिहारको समयमा ठूलो संख्यामा पर्यटक नआए पनि यसअघिको तुलनामा उत्साहप्रद देखिएको छ ।
दशैं, तिहारको आगमनले केही मात्रामा भने पनि पर्यटकीय चहलपहल बढाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताएका छन् । ‘विगतमा जस्तै उल्लेख्य पर्यटक नदेखिए पनि फाट्टफुट्ट पर्यटक देखिँदा पनि पर्यटन व्यवासायीमा आशा जगाएको छ,’ उनको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

दशैं शुरू भएदेखि पोखरामा आन्तरिक पर्यटकको आगमन बढेको युवा पर्यटन व्यवसायी महेश्वर अर्यालले बताएका छन् । सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकलाई सेवा दिइएको उनको भनाइ छ ।

पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यहाँका पर्यटन व्यवसायीले होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई आत्मसात् गरिहेको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचनको भनाइ छ ।

पोखरा आएका आन्तरिक पर्यटक वरपरका पदयात्रा मार्ग एवं पर्यटकीय स्थल नखुल्दा भने समस्या भएको व्यवसायीको गुनासो छ । महामारीलाई दृष्टिगत गरी पोखरा हुँदै जाने धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ दर्शनार्थीका लागि खुला गरिएको छैन भने विश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग मध्येको अन्नपूर्ण आधार शिविर जाने पदमार्ग यतिखेर त्यहाँका स्थानीय पर्यटन व्यवसायीले नै बन्द गरेका छन् ।

यस्तै पोखराका होटेल खुले पनि आसपासका विन्ध्यवासनी, तालबाराही जस्ता धार्मिक स्थलका साथै विश्वशान्ति स्तूप, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय लगायतका स्थल एवं पर्यटकीय गतिवधि समेत सञ्चालनमा आउन सकेका छैनन् । आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकीय स्थल एवं गतिविधि खुल्ला नगर्दासम्म पोखराको पर्यटन अपेक्षित चलायमान नहुने व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)