बीबीसी । भारतको औषधि नियामकले दुईवटा कोभिड-१९ विरुद्धका खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ। ती खोपहरू अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिन छन्।
ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले कोभिसिल्ट खोप ७०.४२ प्रतिशत प्रभावकारी रहेको बताएका छन्। भारतले यो वर्ष ३० करोड मानिसलाई खोप दिने योजना बनाएको छ।
कोभ्याक्सिन भने भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर तयार पारेको हो। डीसीजीआईका निर्देशक डा. बिजी सोमानीले कोभ्याक्सिन सुरक्षित रहेको र त्यो प्रतिरक्षा क्षमता बलियो बनाउन सक्षम रहेको जनाएका छन्।
उक्त निर्णयपछि प्रधानमन्त्री नरेन्द्र मोदीले डीसीजीआईको ट्विटरमार्फत बधाई भारत भन्दै देशलाई कोरोनामुक्त पार्न सघाउने बताएका छन्।
यसअघि शुक्रबार सिरम इन्स्टिच्युटको कोभिशिल्ड खोपको लागि समेत यस्तै स्वीकृति दिइएको थियो। विज्ञ समूहले खोपको सुरक्षा र प्रतिरक्षाको तथ्याङ्क मूल्याङ्कन गरेर सार्वजनिक हितका लागि आपत्कालीन स्थितिमा प्रतिबन्धित उपयोगका लागि अनुमति दिन सिफारिस गरेको थियो। अन्य खोपको परीक्षण पनि जारी रहने बताइएको छ।
कोभिशिल्ड र कोभ्याकसिन दुवै खोपहरू दुई खेपमा दिइनेछ। जसलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने बताइएको छ। भारतमै कैडिला हेल्थकेयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परिक्षणका लागि अनुमति दिइएको छ।
